PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

प्रचण्डको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै ओलीले भने- 'एमाले सिमलको भुवाले उडाउने शक्ति होइन'



पहिलोपोस्ट

प्रचण्डको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै ओलीले भने- 'एमाले सिमलको भुवाले उडाउने शक्ति होइन'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालबाट देशभित्रका पार्टी र अर्को छिमेकीको विरोधमा भारतमा गएर टीकाटिप्पणी गरेको भन्दै आलोचना गरेका छन्।

आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठक थालनीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा कूटनीतिक मर्यादा र हैसियत कमजोर भएकाले त्यसमा आफूहरुको गम्भीर असहमति रहेको बताए। ‘देशभित्र कुन पार्टी र नेता भारतको विपक्षमा फलाना फलाना छन् भनेर नामै तोकेर भारतमा टिप्पणी गरिनु झुठ, अपरिपक्व र अशोभनीय काम हो,' उनले भने, 'अर्को छिमेकी चीनको विरोधमा पनि टिप्पणी भएको पाइएको छ, त्यो सर्वथा देशविरुद्ध छ।’ 

नेपालको आन्तरिक मामलामा अनावश्यक बाह्य चासो निम्त्याइएको र सबै अन्तर्राष्ट्रिय सङ्घ संस्था एवम् मञ्चमा भारतसँग निकट समन्वय गर्ने तथा प्रमुख अन्तर्राष्ट्रिय मामलामा भारतसँग समान धारणा राख्ने भन्ने प्रावधान संयुक्त वक्तव्यमा उल्लेख गरेर नेपालको स्वतन्त्र विदेश नीतिलाई पराश्रित गराइएको भन्दै एमालेले असहमति प्रकट गरेको हो। 

प्रधानमन्त्री दाहाललाई भारत जानुपूर्व आफूहरुले भेटेर लिखित ध्यानाकर्षण गराई देशको स्वाभिमानमा धक्का लाग्ने काम नहोस् र फर्केपछि स्वागत गर्न पाउँ भनेर शुभकामना दिए पनि फर्केपछि विरोध गर्नुपर्ने अवस्था आएको अध्यक्ष ओलीको भनाइ छ।

नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्त र असङ्लग्न परराष्ट्र नीतिका आधारमा सम्बन्ध विकसित गर्दै आएकामा भारत भ्रमणबाट त्यसको उलङ्घन भएको जनाउँदै उनले चीनसँग आफ्नो सरकारले गरिएका सम्झौता कार्यान्वयनमा सरकारले चासो नदिएको, नयाँ सरकार गठनलगत्तै अनावश्यक र नाटकीय रुपमा विशेष दूत पठाएको भनी आलोचना गरे।

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारका पालना ल्याइएको तीन तहको निर्वाचन कार्यतालिका वर्तमान सरकारले प्रभावित पार्न खोजेको, एमालेलाई तराई–मधेस विरोधी भनाउन खोजिएको, पुनःनिर्माणको काम प्रभावकारी नभएको जस्ता विषय समीक्षा गरी पार्टी सङ्गठनलाई प्रदेशस्तरमा परिचालन गर्न देशव्यापी अभियान सञ्चालनबारे बैठकले निर्णय गर्ने बताए।

‘एमाले सिमलको भुवाले फुर्र उडाउने शक्ति होइन, सङ्घर्षको इतिहास बोकेको शक्ति हो,' उनले भने, 'हाम्रा विरुद्धका सबै भ्रम चिर्ने अभियान लिएर जनस्तरमा जानुपर्छ।'

तीन दिन चल्ने भनिएको बैठकमा आज अध्यक्ष ओलीको लिखित प्रतिवेदन प्रस्तुत भई अध्ययनका लागि समय दिइनेछ भने सोमाथि समूहगत आधारमा छलफल हुनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell