
काठमाडौं : आउँदो मंसिर १७ गते सार्वजनिक हुने फिल्म 'तँ म र ऊ' की निर्देशक लक्षु गौतम बुधबार एक समारोहबीच निकै आक्रोशित रुपमा प्रस्तुत भइन्। फिल्मको प्रोमो सार्वजनिक कार्यक्रममा उनले आफूलाई महिला निर्देशक भनिएको मन नपर्ने समेत बताइन्।
भनिन्, 'म महिला निर्देशक होइन, फिल्म निर्देशक बन्न चाहन्छु। मलाई आरक्षणमा विश्वास छैन र प्रतिशतमा बाँडिएको अधिकारले कसैको क्षमता नाप्छ भन्ने लाग्दैन।'
गौतमले फिल्म प्रचारका क्रममा आफूलाई महिला निर्देशक नभन्न/नलेख्न आग्रह पनि गरिन्।
उनको तर्कलाई समर्थन गर्दै कार्यक्रमकी प्रमुख अतिथि 'पहिलो महिला फिल्म निर्देशक' तथा चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठले तर्क गरिन्, 'महिला र पुरुष पदीय दायित्वमा छुट्टिँदैनन्। सबैको आफ्नो क्षमता र जिम्मेवारी हुन्छ।' पुरुष मात्र योग्य र क्षमतावान् हुने भए आफूले 'प्रेमयुद्ध' बनाउन नकस्ने उनको भनाइ थियो।
महिला भनिएकोमा मात्र निर्देशक गौतमको आक्रोश शान्त भएन। उनले उपस्थित पत्रकारलाई सम्बोधन गर्दै बोलिन्, 'पत्रकारलाई निर्देशक, निर्माता र कलाकारले पालेका छौं। हरेक पत्रकारले यो कुरा बुझेर फिल्म प्रोमोसनमा सहयोग पुर्याउनुपर्छ।'
कुनै फिल्म हिट बनाउने वा फ्लप, त्यसमा मिडिया हाइपको पनि व्यापक भूमिका हुने जनाउँदै उनले भनिन्, 'सम्बन्धको आधारमा पत्रकारहरु कसैको कार्यक्रममा जाने कसैकोमा नजाने, कुनै फिल्म कभर गर्ने कुनै नगर्ने गर्नु राम्रो होइन।' सबै राम्रो फिल्म हिट नभए पनि पत्रकारले राम्रो/नराम्रो छुट्याएर हरेक फिल्मलाई मिडियामा महत्व दिनुपर्ने उनको तर्क थियो।
फिल्म बनेको सात महिना भइसक्दा पनि रिलिजको मिति तय गरिएको थिएन। आजै रिलिज मितिसहित नयाँ प्रोमो सार्वजनिक गरिएको हो।
निता ढुङ्गाना र आमेश भण्डारी पहिलो पटक सँगै पर्दामा देखिने तयारीका साथ गत साल सुटिङ भएको फिल्मको पोस्ट प्रोडक्सनको काम रोकियो। कारण थियो- फिल्म 'फूलैफूलको मौसम तिमीलाई'। फिल्मले निता र आमेशलाई लिएर काम गरेपछि 'तँ म र ऊ' युनिटले फिल्म जुधाउन चाहेन।
त्रिकोणात्मक प्रेम कथा देखाउन खोजिएको फिल्ममा लेखक सुदिन प्रसाई स्वयंको पनि अभिनय रहेको छ।
लक्षु गौतमको निर्देशनमा बनेको फिल्ममा निता र आमेशसँगै निर्माता सुदिन प्रसाई, कविन्द्रराज पुरी, दिनेश डिसी, प्रभाकर श्रेष्ठ, पूर्णिमा क्षेत्री लगायतको मुख्य भूमिका रहेको छ।