PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

४६औं थाक खेलकुद महोत्सव : भलिबलमा ताग्लुङ र जोमसोमको विजयी सुरुवात



पहिलोपोस्ट

४६औं थाक खेलकुद महोत्सव : भलिबलमा ताग्लुङ र जोमसोमको विजयी सुरुवात

मुस्ताङ : हिमालपारिको जिल्ला मुस्ताङको कोबाङमा ४६औँ संस्करणको थाक खेलकुद महोत्वसव आजबाट सुरु भएको छ। महोत्सवको पहिलो दिन भलिबलका दुई खेल सम्पन्न भएका छन्। यहाँ धनुषवाण प्रतियोगिता पनि हुनेछ।

वाणिज्य मन्त्री रोमी गौचन थकाली, सांसद महेन्द्र शेरचन र आयोजकका अध्यक्ष प्रेम प्रसाद गौचनले संयुक्त रुपमा रेफ्रीलाई बल हस्तान्तरण गरेर महोत्सवको उदघाटन गरेका थिए।
 
पुरुष भलिबलको उद्घाटन खेलमा ताग्लुङले कोबाङलाई ३–२ को सेटले पराजित गर्‍यो। निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो दुई सेट कोबाङले जिते पनि बाँकी तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै ताग्लुङले खेल आफ्नो पक्षमा पारेको हो।
 
ताग्लुङले पहिलो दुई सेट २१–२५ र २१–२५ ले गुमाएको थियो। कोबाङको खेल जित्न एक सेट आवश्यक परेको अवस्थामा ताग्लुङले पुनरागमन गर्दै अन्तिम तीन सेट २५–१३, २६–२४ र १५–१० ले जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो।
 
बुधबारै भएको अर्को खेलमा जोमसोमले टुकुचेलाई ३–० को सोझो सेटमा हरायो। जोमसोमले टुकुचेलाई २५–१७, २६–२४ र २५–१९ को सेटमा पराजित गरेको हो।
 
लिगकम नकआउट आधारमा खेलाइने प्रतियोगिता पुरुषतर्फ सिक्स सोल्टी युवा घासा, अन्नपूर्ण युवा क्लब ताग्लुङ, निर्मल स्पोर्टिङ क्लब लेते, धौलागिरी युवा क्लब कोबाङ, निलगिरी युवा क्लब टुकुचे, जनकल्याण युवा क्लब जोमसोम, जनहित युवा क्लब स्याङ र मिलीजुली युवा क्लब मार्फा गरी ८ टिमको सहभागिता रहेको छ। महिलातर्फ घासा, ताग्लुङ, लेते, कोबाङ र टुकुचे गरी ५ टिमको सहभागिता रहेको छ।
 
यस्तै धनुषवाणमा कुल ९ टिमको सहभागीता रहने आयोजक थाक खेलकुद तथा सांस्कृतिक विकास सघंका अध्यक्ष प्रेम प्रसाद तुलाचनले बताए।
 
उक्त महोत्सवमा मुस्ताङको संस्कृति झल्कने किसिमको नृत्य र आफैँले रचना गरेको संगीत प्रतियोगिता, मिस मुस्ताङका साथै कृषि प्रदर्शनी समेत रहेको अध्यक्ष तुलाचनले बताए।
 
सो अवसरमा खेलकुद तथा सामाजिक कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने मुस्ताङका जयन्द्र लाल थकाली र समाजसेवी इन्द्रधारा विष्टलाई सम्मानित गरियो।
 
मन्त्री गौचनले थाक खेलकुद मुस्ताङको ऐतिहासिक पर्व भएको बताए। महोत्सव आयोजना गर्न धेरै व्यक्तित्वहरुको योगदान रहेको उल्लेख गर्दै उनले यसको विकास र विस्तारमा अझ बढी चासो राख्ने गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell