
काठमाडौं : जर्मन ओपन प्रिमियर लिग कराते वन मा नेपालबाट दुई खेलाडीले सहभागिता जनाउने भएका छन्। जसका लागि पर्शुराम बास्तोलाले एकल काता र विजय लामाले कुमुतेमा प्रतिस्पर्धा गर्नेछन्।
लामाले कुमुतेको ६० केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् भने पर्शुरामले शुक्रबारै प्रतिस्पर्धा गर्नेछन्। विजय भने शनिबार खेल्दैछन्।
पर्शुरामले जर्मन प्रिमियर लिगमा सहभागिता जनाउन लागेको यो दोस्रो पटक हो। जर्मन ओपन करातेमा सहभागिता जनाउने खेलाडीलाई बुधबार नेपाल सितोरियो कराते संघका अध्यक्ष एवम एपीएसकेएफका प्रथम उपाध्यक्ष दावा गुरुङ, कराते महासंघका केन्द्रीय सदस्य राजेश अधिकारी, मुख्य प्रशिक्षक महेश कुमार श्रेष्ठ लगायतले बिदाइ गरे।
प्रतियोगिता आगामी शुक्रबारदेखि आइतबारसम्म जर्मनीको ह्यामबर्गस्थित ह्यामवर्ग स्पोर्ट्स हलमा आयोजना हुनेछ।
प्रतियोगितामा ७२ देशका ११ सय ७२ खेलाडीले सहभागिता जनाउने आयोजक जर्मन कराते फेडेरेसनले उल्लेख गरेको छ।