
प्रिमियर लिगका क्लबहरु म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड, टोटनहम, साउदह्याम्पटन, वेष्टहम, हल सिटी र सण्डरल्याण्ड इंगलिस फुटबल लिग इएफ कपको चौथो चरणमा प्रवेश गरेका छन्।
प्रिमियर लिगको शीर्ष स्थानमा रहेको सिटीले प्रिमियर लिगकै अर्को क्लब स्वान्सी सिटीलाई २-१ ले हरायो। म्यानचेष्टर सिटीको जितमा गेल क्लिची र एलेक्स गमर्सियाले गोल गरे। स्वान्सीका लागि खेलको अन्त्यतिर गिल्फी सिगुरसनले एक गोल फर्काए पनि हार टार्न सकेनन्।
यता लगातार तीन खेल हारेर आलाचित बनेको म्यानचेष्टर युनाइटेड र उसका म्यानेजर जोसे मोउरिन्होलाई पनि इएफएल कपको जितले राहल मिलेको छ। युनाइटेडले नर्थह्याम्पटन टाउनलाई ३-१ ले पराजित गर्यो।
युनाइटेडको जितमा माइकल क्यारिक, आन्द्रे हेरेरा र मार्कुस रासफोर्डले गोल गरे। टाउनका लागि घरेलु मैदानमा एलेक्जान्डर रेभेलले एक गोल फर्काए।
यस्तै टोटनहम हट्सपरले गिलिङहमलाई ५-० गोल अन्तरले हरायो। टोटनहमको सहज जितमा क्रिस्टियन एरिक्सनले सुरुवाती २ गोल गरे भने भिनसेन्ट जानसेन, जोसुअ ओनामा र एरिक लामेलाले १/१ गोल गरे।
साउदह्याम्पटनले प्रिमियर लिगकै क्रिस्टल प्यलोसलाई २-० ले हरायो। उसको जितमा चार्ली अस्टिन र जेक हेस्केथले १/१ गोल गरे। अर्को खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै हल सिटीले स्टोक सिटीलाई २-१ ले पराजित गर्यो। मार्को अर्नाउटोभिकले गोल गर्दै स्टोकलाई अग्रता दिलाएका थिए। तर राएन मासोन र मार्कुस हेनरिकसनले गोल गर्दै हललाई जिताएका हुन्।
यस्तै सण्डरल्याण्डले पनि एक गोलले नै पछि परेको स्थिति उल्टाउँदै क्वीन पार्क रेन्जर्सलाई क्युपीआरलाई २-१ ले हरायो। सान्द्राले गोल गर्दै क्युपिआरलाई अग्रता दिलाए पनि प्याट्रिक म्याकनायरले २ गोल गर्दै सण्डरल्याण्डलाई विजयी बनाए।
यता खेलको अन्त्यतिर दिमित्री पायटले गरेको एक मात्र निर्णायक गोलको मद्दतमा वेष्टहमले अक्रिङटन स्टानलेलाई १-० ले हरायो। ब्रिस्टल सिटीले पनि फुलहमलाई २-१ ले पराजित गर्यो।