
स्पानिस ला लिगा अन्तर्गत गएरातिको खेलमा लिग लिडर रियल मड्रिड र साबिक विजेता बार्सिलोना बराबरीमा रोकिएका छन्। रियललाई भियारियालले १-१ को बराबरीमा रोकेकै दिन बार्सिलोनाले पनि एथ्लेटिको मड्रिडसँग १-१ गोलकै बराबरी खेल्यो।
रियलको घरेलु मैदानमा भएको खेलमा भियारियालले पहिलो हाफमा अग्रता लिएको थियो। रियलका कप्तान सर्गियो रामोसले डि एरियामा बल ह्याण्ड गरेपछि प्राप्त पेनाल्टीमा बु्रनो सोरियानोले गोल गदै्र भियारियाललाई अग्रता दिलाएका हुन्।
तर त्यो अग्रता धेरै समय टिक्न सकेन। दोस्रो हाफको तेस्रो मिनेटमा रियलका कप्तान रामोसले नै हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि भने दुवैतर्फबाट गोल नसक्दा रियल र भियारियालले १-१ को बराबरी खेल्दै अंक बाँडे।
बराबरीका बाबजुत पनि अपराजित रियल ५ खेलबाट १३ अंक सहित शीर्ष स्थानमा कायम छ।
रियल बराबरीमा रोकिएको दिन बार्सिलोनाले एथ्लेटिको विरुद्ध जित निकाल्दै रियलसँग अंक दुरी कम गर्ने मौका गुमायो। घरेलु मैदान नोउ क्याम्पमा एक गोलको अग्रता लिएर पनि बार्सिालेना अंक बाँड्न बाध्य भयो। खेलको ४१ औं मिनेटमा इभान राकिटिकले कप्तान आन्द्रे इनेस्टाको लामो क्रसमा हेडमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।
तर दोस्रो हाफमा बार्सिलोनालाई झड्का लाग्यो। लियोनल मेसी ५९ औं मिनेटमा सब्सिच्युट भए। ६० औं मिनेटमा एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले केभिन गमेइरो र साउल निगेजको स्थानमा फरवार्डद्वय फर्नान्डो टोरेस र अज्नेल कोरेअलाई मैदान उतारे। त्यसको एक मिनेटमा टोरेसको पासमा कोरेअले गोल गर्दै खेल १/१ को बराबरीमा पुर्याए।
त्यसपछि बार्सिलोनाले गोलको प्रयास गरे पनि एथ्लेटिकोका गोलरक्षक जोन ओब्लाकले उत्कृष्ट बचाउ गरे।
बराबरीपछि ५ खेलबाट १० अंक जोडेको बार्सिालेना तेस्रो स्थानमा छ। दोस्रो स्थानको सेभियाको समान खेलबाट ११ अंक छ। यता सिजनको तेस्रो बराबरी खेलेको एथ्लेटिकोको ५ खेलबाट ९ अंक भएको छ र चौथो स्थानमा उक्लेको छ।
९ अंक नै रहेको लसपलमस पाँचौ, भियारियाल छैटौ र एथ्लेटिको विल्वाओ सातौं स्थनमा छ। विल्वाओले ग्रानाडालाई २-१ ले हराउँदै ३ अंक जोडेको हो। अन्य खेलमा रियल सोसिडाडले १० खेलाडीमा रहेर खेलेको अन्त्य गरेको लसपलमसलाई ४-१ ले हरायो भने सेल्टाभिगाले स्पोर्टिङ गिहोनलाई २-१ ले पराजित गर्यो।