PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

पहिरोले विस्थापित खोटाङका ९ परिवारलाई सुरक्षित स्थानमा सारियो



पहिलोपोस्ट

खोटाङ : गाउँ नजिकैबाट पहिरो झर्न थालेपछि नौ घर विस्थापित भएका छन्।
 
हप्ता दिनदेखि लगातारको वर्षाका कारण पहिरोले गाउँ नै बग्न थालेपछि सुन्तले–४ का १६ घरमध्ये नौ घरपरिवार विस्थापित भएका हुन्।
 
पहिरो झर्न थालेपछि नौ घरका ६६ जनालाई स्थानीय जनचेतना प्राविमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले आज जानकारी दिए।
 
पहिरोबाट चन्दीमाया मगर, कर्णबहादुर मगर, कुलबहादुर मगर, विष्णुमाया मगर, गेदे मगर, छविलाल मगर, रणबहादुर मगर, मैतसिं तामाङ र गोविन्द तामाङको परिवार विस्थापित भएका हुन्। उनीहरुलाई प्रहरी र स्थानीयले घरमा भएका सामानसहित विद्यालयमा सारेको हो।
 
व्यवस्थापन समितिका अध्यक्ष रहेका स्थानीय पदम मगरका अनुसार गाउँको उत्तरतर्फबाट करिब ५ सय मिटर मुनिबाट पहिरो झरिरहेको छ। पहिरोबाट विस्थापित परिवारको सुरक्षा र आवास व्यवस्थापनका लागि छिमेकी फाक्टाङ गाविसस्थित हुक्नाजोर प्रहरी चौकीबाट टोली खटाइएको प्रनाउ प्रधानले जानकारी दिए। 
 
त्यस्तै, भूपजीत तामाङ, दन्ड तामाङ, डम्बर तामाङ, सार्के तामाङ, शेरबहादुर तामाङ, शिव तामाङ, पदम तामाङ र मानबहादुर मगरको घरसमेत पहिरोको उच्च जोखिममा परेको स्थानीय सामाजिक परिचालक सरस्वती बञ्जराले बताए। 
 
जिल्लाको अन्य स्थानमा समेत पहिरोले क्षति पुर्‍याएको र यकिन विवरण सङ्कलन भइरहेको जिल्ला दैविप्रकोप उद्धार समितिका संयोजक तथा प्रजिअ चन्द्रबहादुर कार्कीले बताए।
 
यसैबीच, लगातारको वर्षासँगैको पहिरोका कारण दिक्तेल–जयरामघाट सडक अवरुद्ध भएको छ। मध्यपहाडी राजमार्गमा पर्ने सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएपछि सयौँ यात्रु पैदल यात्रा गर्न बाध्य भएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell