फलेवास (पर्वत) : पर्वतका ग्रामीण सडक अवरुद्ध हुँदा बिरामीको उपचार गर्नका लागि हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको छ।
पर्वतको सदरमुकाम कुश्मादेखि दक्षिण रानीपानी जोड्ने सडक अवरुद्ध हुँदा करिब दुई लाख रुपैयाँ खर्चिएर बिरामीलाई राजधानी लैजानुपरेको हो। छिमेकी जिल्ला बागलुङको दक्षिण भेगस्थित छिस्ती गाविसका ५५ वर्षीय टीकानिधि पाध्यालाई बुधबार साँझ श्री एअरलाइन्सको हेलिकप्टरमार्फत राजधानी लगिएको हो।
मङ्गलबारदेखि एक्कासि बिरामी परेका पाध्यालाई स्थानीयस्तरमा उपचार गरेर निको हुने सम्भावना नभएपछि सिधै राजधानीस्थित ग्रान्डी अस्पतालमा लगिएको स्थानीयवासी राधाकृष्ण पाठकले जानकारी दिए।
पाध्यालाई श्वासप्रश्वाससम्बन्धी रोग देखापरेपछि पर्वतको पाङराङ गाविसस्थित कर्नासमा हेलिकप्टर अवतरण गराई काठमाडौँको ग्रान्डी अस्पतालमा लगिएको पाध्याका छोरा कौरवले जानकारी दिए।
उक्त हेलिकप्टर चार्टर गर्दा दुई लाखभन्दा बढी खर्च लागेको छ। आर्थिक अवस्था कमजोर भए पनि ऋण गरेरै हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता आएको उनले गुनासो गरे।
बाग्लुङको दक्षिणी भेग छिस्ती गाविसमा सडक नपुग्दा त्यहाँका मानिस पर्वतको पाङग्राङ, कर्नास, बाच्छा हुँदै पर्वत सदरमुकाम कुश्मा जोड्ने सडकको प्रयोग गर्दै आएका छन्। उनीहरु सोही सडकमार्फत दैनिक उपभोग्य सामानको ढुवानी गर्दै आएका छन्। पर्वतमा बर्सातले अवरुद्ध भएका ग्रामीण सडक अहिलेसम्म सञ्चालन नहुँदा आवतजावतमा निकै समस्या उत्पन्न भएको स्थानीय गाउँलेको गुनासो छ।