
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनजिओहरुले ठूला सहरमा सेमिनार र गोष्ठी गरेर औपचारिकता पुरा गर्ने गरेको जनगुनासो रहेको भन्दै दुर्गम र विपन्न नागरिकको वास्तविक उत्थानका लागि काम गर्न गैरसरकारी संस्थाहरुलाई निर्देशन दिएका छन्।
उनले सामाजिक क्षेत्रको कार्यक्रम लक्षित वर्गमा केन्द्रित गरेर परिणाममुखी काम गर्नुपर्नेमा पनि जोड दिए। समाज कल्याण परिषदले आज आयोजना गरेको सामाजिक सेवा दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, 'सामाजिक सेवाका लागि हजारौं संस्था स्थापना भएका छन्। समाज कल्याण परिषदमार्फत अरबौंको बजेट परिचालन भएको छ। तर, त्यस्ता संस्था र कार्यक्रमले लक्षित वर्गको उत्थान गर्न सकेका छन् कि छैनन्?’
गैरसरकारी संस्थाले पछाडि पारिएका वर्गको उत्थानको नारा बोके पनि यथार्थमा त्यस्तो नपाइने बताए। 'गैरसरकारी संस्था विरलै मात्र ग्रामीण क्षेत्रमा जान्छन्, धेरै सहरमै काम गर्छन् भन्ने छ,' उनले भने, 'त्यसलाई परिवर्तन गर्नुस्।' एनजिओ, आइएनजिओको कामप्रति जनताका प्रशस्तै गुनासा रहेको भन्दै उनले यस्तो आम धारणालाई बदल्नका लागि आग्रह गरे।
कार्यक्रममा परिषदमा रहेर २५ वर्ष काम गरेका राष्ट्रसेवक कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो।