खजुरा (बाँके) : प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दलबीच सहमति भए चैतमा स्थानीय निर्वाचन गराउन आयोग तयार रहेको बताएका छन्।
स्थानीय तहको निर्वाचनका लागि आयोग आन्तरिक र प्राविधिक दुवै हिसाबले तयार रहेको समेत बताए। नेपालगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले त्यसका लागि आयोग ‘इलेक्सन एक्सन प्लान’बनाएर निर्वाचनको तयारीमा जुटिसकेको जानकारी दिए।
निर्वाचन गर्न आवश्यक पर्ने पाँच वटा कानुनको मस्यौदा सरकारलाई पठाइसकेको बताउँदै उनले राजनीतिक सहमति जुटे चैतमा स्थानीय निर्वाचन गराउन गाह्रो नहुने भनाइ राखे। 'राजनीतिक प्रतिबद्धता भए २०७४ माघ ७ भित्र सबै तहका निर्वाचन गर्न सक्छौं,' उनले भने, 'राजनीतिक निर्णय गरेमा ९० देखि १२० दिनमा अयोगले निर्वाचन गर्न सक्छ।'
राजनीतिक दलले सहमति कायम गरेर निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई नै दिनुपर्नेमा पनि उनले जोड दिए। यसअघि सरकारले नै निर्वाचनको मिति तोक्दै आएकोमा अबदेखि भने आयोगलाई नै त्यो अधिकार दिँदा निर्वाचन गर्न सहज हुने उनको भनाइ छ।
प्रमुख निर्वाचन आयुक्त यादवले यसअघिका निर्वाचनमा खर्च विवरण नबुझाउने राजनीतिक दल तथा उम्मेदवारविरुद्ध आयोग कडा रुपमा प्रस्तुत हुने जानकारी समेत दिए। रासस