काठमाडौं : सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उनलार्इ नियुक्त गरेको हो। उनी टेलिकममै नायब प्रबन्ध निर्देशक थिइन्।
सरकारले खुला प्रतिस्पर्धाबाट नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटका लागि आवेदन गरेको थियो। प्रवन्ध निर्देशक छनौटका लागि गठन गरेको सिफारिस समितिले आवेदकमध्येबाट तीन जनाको नाम छनौंट गरेको थियो। कामिनीका अन्तिम प्रतिस्पर्धीमा मदन खरेल र सुनिल कुमारी पोखरेल पनि थिए।
सिफारिस समितिले आवेदन दिने मध्ये छ जनाको सर्ट लिष्ट तयार गरेर अन्तरवार्ता लिने र ती मध्येवाट उत्कृष्ट तीनजनालाई बिहीबार मन्त्रिपरिषदमा पेश गरेको थियो। समितिले तयार पारेको सर्ट लिस्टमा टेलिकम भित्रैबाट आवेदन दिनेमध्ये कामिनी बाहेक मानव संशाधन प्रमुख रवीन्द्र झा, प्रबन्धकहरू वटुक आनन्द वैद्य, सुनीलकुमार पोखरेल र गुणकेशरी प्रधान थिए।
सर्टलिष्ट हुँदै अन्तिम तीन सम्म पर्ने खरेल भने टेलिकम बाहिरका हुन्। उनले नेपाल वायुसेवा निगमको महाप्रवन्धकको रुपमा काम गरिसकेका छन्। समितिले तयार पारको सर्टलिस्टमा टेलिकमका पूर्व प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्य परेका थिएनन्।
सरकारले गत असार २५ मा प्रतिस्पर्धाका आधारमा टेलिकम प्रमुख माग गरेको थियो। त्यसमा नेपाल टेलिकम भित्रबाट नौ जना र बहिरबाट चार जनाले आवेदन दिएका थिए।