PahiloPost

Mar 5, 2025 | २१ फागुन २०८१

छिटै निर्वाचनमा जान एमालेको जोड



पहिलोपोस्ट

काठमाडौँ : नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ जारी बैठकमा आज सदस्यहरुले संविधान बमोजिम छिटो निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।
 
संविधान कार्यान्वयन नै अहिलेको मुख्य विषय भएकाले  छिटोभन्दा छिटो निर्वाचनमा जानुपर्नेमा उनीहरुले जोड दिएका छन्।
 
अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विकसित परिस्थिति र आगामी कार्ययोजना सहितको लिखित राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा सदस्यहरुले राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बनाउनुपर्ने, कार्यकर्ता र जनपरिचालन गर्नुपर्ने, तराई–मधेसमा आर्थिक–सामाजिक रुपान्तरणका विशेष अभियान चलाउनुपर्ने, पार्टी नेतृत्वको सरकारले प्रस्तुत गरेका जनपक्षीय नीति, कार्यक्रम र बजेटलाई आम जनताकाबीचमा प्रचारप्रसार गर्नुपर्ने लगायत सुझाव बैठकमा प्रस्तुत गरेका छन्।
 
पार्टी नेतृत्वको सरकार भएकोबेलामा मुलुकको स्वाभिमान र शिर माथि उठाइएका कारण जनताको मनोबल माथि उठेको र राष्ट्रिय एकता मजबुत भएको विश्लेषण पनि उनीहरुले प्रस्तुत गरेका छन्।
 
प्रतिवेदनमा छलफल गर्न विभिन्न नौ वटा समूह विभाजन भई समूहका नेता र उपनेता चयन भएका थिए।
 
यसैगरी, वर्तमानका चुनौतीको सामना गर्न पार्टीलाई गुटबन्दीबाट मुक्त गराएर एकताबद्ध रुपमा अघि बढाउनुपर्ने र संस्थागत तथा कमिटी प्रणालीलाई बलियो बनाउनुपर्ने सुझाव पनि बैठकमा प्रस्तुत भएका छन्।
 
गुटबन्दीका कारण पार्टी कमजोर बन्ने भएकाले सिङ्गो मुलुकको भविष्य र नेता कार्यकर्ताको भविष्यका लागि पार्टीलाई यसबाट मुक्त गर्न टोली नेताले नेतृत्व पङ्क्तिको गम्भीर ध्यानाकर्षण गराएको पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
 
आजको बैठकमा प्रदेश नं २ का तर्फबाट प्रह्लाद गिरी, ३ नंका तर्फबाट अरुण नेपाल, ४ नंका तर्फबाट जगत विश्वकर्मा, ५ नंका तर्फबाट वैजनाथ चौधरी र ७ नंका तर्फबाट निरा जैरुले आआफ्ना समूहमा भएका छलफलका निष्कर्षलाई बैठकसमक्ष प्रस्तुत गरे।
 
बाँकी चार वटा टोली जगन्नाथ खतिवडा (प्रदेश नम्बर १), यामलाल कँडेल (प्रदेश नम्बर ६) रचना खड्का (केन्द्रीय विभाग) र विश्वनाथ प्याकुरेल (मोर्चा सङ्गठन) का तर्फबाट भोलि सुझाव प्रस्तुत गर्नेछन्। अर्को बैठक शुक्रबार दिउँसो १२ बजे पुनःबस्नेछ। 
 
बैठकका लागि राजनीतिक प्रतिवेदनका साथै स्थानीय निकायको पुनःसंरचना (सङ्ख्या र सीमा), पार्टी प्रवेश गरेकाको व्यवस्थापन, प्रदेश सङ्गठन कमिटीका सम्बन्धमा, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयन, केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन, स्थायी समितिका निर्णयको अनुमोदन, केन्द्रीय आयोगका प्रतिवेदन आदि कार्यसूची तय भएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell