
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदका लागि दाबेदारी प्रस्तुत गरेका टासी घलेले उम्मेदवारी नदिने घोषणा गरेका छन्।
आज पत्रकार सम्मेलनमार्फत विज्ञप्ति जारी गरी उनले उम्मेदवारी नदिने बताएका हुन्। उनी मनाङ मर्स्याङ्दी क्लबका पूर्व अध्यक्ष पनि हुन्। उनले भदौ १४ गते अध्यक्षमा भिड्ने घोषणा गरेका थिए। वर्तमान कार्यसमितिका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष कर्मा शेर्पा र पूर्वराष्ट्रिय खेलाडी विज्ञानराज शर्माले पनि अध्यक्षका लागि आफ्नो नाम अघि सारिसकेका छन्।
२०७० को विधानअनुसार चुनाव निर्देशिका बनाउनुपर्नेमा २०६६ कै अनुसार पुरानो निर्देशिका आएकोमा उनको आपत्ति छ। 'यही निर्देशिकामा चित्त नबुझेकाले मैले अध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेको हुँ,' उनले भने, 'यसबारे राष्ट्रिय खेलकुद परिसदमा पत्र पठाए पनि मलाई कुनै जवाफ दिइएन।' आफू पदमा नरहे पनि फुटबलको विकासमा लागि भने आफू लागी नै रहने उनको भनाइ छ।
एन्फामा लामो समय राज गरेका तत्कालीन अध्यक्ष गणेश थापालाई २०७२ साल कात्तिक २९ गते फुटबलको सर्वोच्च निकाय फिफाले १० वर्षका लागि फुटबलसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिबाट निलम्बन गरेपछि अध्यक्ष पदमा पहिलो पटक चुनाव हुन लागेको हो।
आगामी कात्तिक ८ गते चुनाव हुँदैछ। रिक्त रहेको अध्यक्ष र एक उपाध्यक्ष पदका लागि विशेष साधारण सभामार्फत चुनाव गर्न लागिएको हो।