PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

कान्तिपुर गाथा : कनिकाको खातामा आँखोदेखी समाचार



किशोर नेपाल

कान्तिपुर गाथा : कनिकाको खातामा आँखोदेखी समाचार

कनिका अन्ततः मुग्लिनको बाटो बिर्सेर सिस्नेरीको बाटो फर्किने भई कान्तिपुर। योभन्दा उत्तम विकल्प अर्को थिएन। हरेक दिन रामनगर वा दासढुंगामा जाम खुल्ने प्रतीक्षामा ढुक्नुको अर्थ पनि थिएन। सिस्नेरीको बाटो थियो उसको नयाँ भेन्चर। कहिल्यै केही थाहा नपाएको र नामै नसुनेको एउटा बेग्लै नक्सा हुँदै एक्लै यात्रा गर्दै थिई ऊ कान्तिपुरतिर।
 
चितवनको होटलवालाले उसलाई भनेको थियो, ‘हेटौंडासम्म जानुभयो भने जीप–सवारीहरु थुप्रै पाइन्छन्। त्यो तपाईंको लागि अलि झन्झटिलो हुन्छ। हाम्रो होटलको मोटर गेस्ट लिन कान्तिपुर जाँदैछ। त्यसमा जानुभयो भने सुविधाजनक हुन्छ।’
 
होटेलको कारमा भ्याट सहित ३,३९० रुपैयाँ लाग्ने भयो। कनिका तयार भई। उसलाई पनि कान्तिपुरको न्यास्रो लाग्दै थियो। चार्लीसँगको सहज च्याट, कफी, साथीभाइसँगको गफ र बाबा–मामु। रिपोर्टिङको जोश नभएको भए तीन दिनसम्म उसका लागि यो चितवनमा एक्लै बस्नु सम्भव नै थिएन। उसलाई जंगल सफारी जाने मन थियो। त्यो पनि गइन। उसले प्रेसर फिल गरेकी थिई रिपोर्टिङको।
 
यो तीन दिनमा उसले धेरै कुरा बुझेकी थिई। कसरी चल्छ राजमार्गको सिस्टम? कसरी बिग्रिन्छन् राजमार्गहरु? कसरी बिग्रिन्छ वा बिगारिन्छ प्रक्रियाहरु? राजनीतिक नेता, ठेकेदार र व्यवसायीहरुले कसरी गर्दछन् योजनाको म्यानिपुलेसन; मोटामोटी सबै बुझिसकेकी थिई कनिकाले तीन दिनमा।
 
उनीहरु अपराह्न दुई बजे निस्किए चितवनबाट। ड्राइभर निकै परिपक्व र भलादमी देखिन्थ्यो। गाडीमा एसी चलेको थियो। त्यसैले आफ्नो मनलाई जबर्जस्ती रोकेर चुरोटको तलतल मारेकी थिई कनिकाले। अति भएपछि उसले ड्राइभरलाई मोटर रोक्न भनी र बाहिर ओर्लिई। गाडीले हेटौंडा बजार छिचोलिसकेको थियो। मेम साहेबले किन गाडी रोकिन्? ड्राइभरले कुरा बुझेको थिएन, तर कनिकाले चुरोट सल्काएको देखेपछि उसको छेउमा गएर भन्यो, ‘गाडीमा नै पिउनु भए हुन्छ।’
 
गाडी केही बेरमा नै भैंसे पुग्यो। त्यसपछि ड्राइभरले सोध्यो, ‘मेम साहब, छोटो बाटो लागौं होला कि? यो बाइरोडको बाटो लामो पनि छ र घुमाउरो पनि। यो अर्को दक्षिणकालीको बाटो अलि कमसल भए पनि सजिलो र छोटो छ। यतैबाट जाऔं होला।’
 
कनिकाले 'हुन्छ' भनी र प्राकृतिक दृश्यहरुमा रमाउन थाली। उसको मनमा विचार आयो- ओहो, कान्तिपुरबाट यति नजिक छौं हामी र पनि कहिल्यै यता आउँदैनौं। उसलाई आफनो शहर एउटा गहिरो इनार जस्तो लाग्यो। इनारमा बस्ने मानिसहरु सबै भ्यागुता जस्ता। ऊ दिमागमा साथीभाइ बटुलेर हाइकिङ र बाइकिङमा आउने योजना बनाउन लागी। यस्तैमा जीपले अचानक लामो मोड लियो। कनिकाको मुटु अचानक धड्किन लाग्यो। उसलाई लाग्यो लौ एक्सिडेन्ट हुन लाग्यो कि के हो। भीमफेदी क्रस गरेपछि कनिकाले अग्ला पहाडको टुप्पातिर गाडीहरुको बथान देखी। उसले ड्राइभरलाई सोधी, ‘हामी जाने बाटो त्यही हो?’
 
ड्राइभरले जवाफ दियो, ‘हो। त्यही बाटो हो हामी जाने। बाटो अलि साँघुरो साँघुरै छ। कुलेखानीसम्म मात्रै हो। त्यसपछि त सजिलो छ।’
 
मोटर उकालो लागेपछि कनिकाको मन शान्त हुन सकेन। बाटो साँघुरो थियो। भाडाका जीपहरु तँछाडमछाड गर्दै ओहोरदोहोर गरिरहेका थिए। त्यति सानो बाटोमा पनि डरै नमानी ओभरटेक गर्ने सवारी देखेर छक्क परेकी थिई कनिका। त्यसमाथि स्पिडमा कुनै कन्ट्रोल थिएन। मोडमा हर्न बजाउने संकेत चिह्न लेखिएका प्लेटहरु खुइलिइसकेका थिए। कनिकाले झ्यालबाट बाहिर हेरी। अपराह्नको घाममा निकै तल पुरानो भीमफेदी बजार टल्किइरहेको थियो। कनिकाले त्यो सौन्दर्यलाई आफ्नो मनमा सजाउन सकिन। त्यति डराउनुपर्ने त केही थिएन। ड्राइभर दक्ष थियो। तैपनि ऊ डराएकी थिई, उचाइको साँघुरो बाटोसँग।
 
बल्लतल्ल उकालो सकियो। ड्राइभर शौचालयतिर लाग्यो। कनिकाले चारैतिर हेरी। कतै देखिन उसले अलि गतिलो ठाउँ। अप्ठेरो अप्ठेरोमा थिई ऊ। छेउको एउटा होटल एन्ड लजमा पसी। त्यहाँबाट निस्किँदा ऊ फ्रेस थिई।
 
कुलेखानीको ओरालो ओर्लिँदै गर्दा उनीहरुको अगाडि निकै चर्को फुर्ति देखाएर कुदिरहेको जीप उताबाट उक्लिइरहेको एउटा जीपसँग नराम्रोसँग ठोक्कियो। दुवै जीप दुईतिर पल्टिए। ओेर्लिँदै गरेको जीप दुई बल्ड्याङ खाएर रुखमा अड्कियो। उक्लिँदै गरेको जीप सडक छेउको पाखामा पल्टियो। एकै छिनमा त्यहाँ कोलाहल मच्चियो। तै कसैको ज्यान गएको थिएन। घाइते सबै थिए। सावूत कोही थिएन। अधिकांशको हात भाँच्चिएको थियो। कसैको खुट्टो च्यापिएको थियो।
 
कोलाहलको बीचमा एउटा खाली मिनीबस आयो सेनाको। त्यो मिनी बस दुर्घटनाको खबर पाएर आएको थिएन। आफ्नो नियमित काममा कतै जाँदै थियो। त्यहाँको बिजोग देखेपछि बसले अफिसमा सम्पर्क गर्‍यो। घाइतेहरुलाई हेटौंडा अस्पताल पुर्‍याउन बसमा राखियो।
 
कनिकाले यस्तो दुर्घटना यसअघि कहिल्यै देखेकी थिइन। ऊ घाइतेहरुलाई मद्दत गर्न र उनीहरुको फोटो खिच्न व्यस्त भई। उसलाई त्यति बेला लाग्यो, रिपोर्टरको जीवन पनि गजबको हुने रहेछ। अरु पीडामा परेका समाचार बनाउनुपर्ने। घाइतेको मल्हमपट्टीमा होइन, क्यामेराको एंगल मिलाउन जुट्नुपर्ने।
 
जे भए पनि, उसको खातामा एउटा अर्को आँखोदेखी समाचार थपिएको थियो।
 

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)
 

यो सिरिजका अन्य गाथा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell