
काठमाडौं : स्थानीय तह पुनःसंरचना आयोगले दसैं बिदामा पनि काम गर्ने भएको छ। असोज मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने गरी काममा जुट्ने आयोगका अध्यक्ष बालानान्द पौडेलले बताए।
रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा बोल्दै अध्यक्ष पौडेलले असोजभित्रै ७५ वटै जिल्लाको रिपोर्ट सरकारलाई बुझाउने तयारीमा रहेको बताए। 'अहिलेसम्म आयोगले ४८ वटा जिल्लाको काम करिब सकेको भए पनि ४८ मध्ये ८ जिल्लामा पूर्ण सहमति बनिसकेको छैन,' उनले भने, 'विवाद रहेका ८ जिल्लामा अहिले समीक्षा गरिरहेका छौं।'
हाल कायम रहेको गाविस र नगरपालिकाको सङ्ख्याका आधारमा अब पुनःसंरचना हुँदै गरेको गाउँपालिका र नगरपालिकालाई हेर्नु नहुने उनको भनाइ छ। संविधानको भावना अनुसार आयोगले अनुमानित ५६५ को हाराहारीमा स्थानीय तहको पुनःसंरचना गर्ने आधार तयार गरेको पनि अध्यक्ष पौडेलले जानकारी गराए।
गत चैतमा गठन भएको आयोगको अवधि फागुन मसान्तमा सकिन्छ। सरकारले चैतमा स्थानीय निकायको निर्वाचन गराउने तयारी गरी छिटो प्रतिवेदन बुझाउन अनुरोध गरेकाले असोज मसान्तमै बुझाइने गरी थप कर्मचारीको व्यवस्था गरी काम भइरहेको अध्यक्षले पत्रकारसामु जानकारी गराए।