
वीरगन्ज : बिटिभी (वीरगन्ज इन्टरटेनमेन्ट्स प्रालि) ले आयोजना गरेको प्रथम मिस नर्स वीरगन्ज सौन्दर्य प्रतियोगिताको उपाधि वीरगन्जकी नर्स अस्मिता गौतमले जितेकी छन्।
इभरग्रीन टेक्निकल इन्स्टिच्युटबाट नर्सिङ अध्ययन पूरा गरी हाल नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा कार्यरत २१ वर्षीया अस्मिताले उपाधि जितेसँगै सबैभन्दा पहिले आफ्नी आमासँग आशीर्वाद लिइन्। उनले भनिन्, ‘म निकै खुसी छु। अनएक्सपेक्टेड लागिरहेको छ।’ योभन्दा अघि उनले कहिल्यै सौन्दर्य प्रतियोगिताहरुमा भाग लिएकी थिइनन्। अस्मितालाई पूर्व मिस नेपाल तथा प्रतियोगिताकी निर्णायक उषा खड्गीले ताज पहिराएकी थिइन्।
प्रतियोगितामा फर्स्ट रनरअप बारा सिमराकी स्वाती बस्नेत घोषित भइन्। वीरगन्ज नर्सिङ क्याम्पसमा स्नातक गरिरहेकी २३ वर्षीया स्वातीलाई निर्णायक तथा मोडेल पियुश कर्णले ताज पहिराए। प्रतियोगिताको तेस्रो उपाधि अर्थात सेकेन्ड रनरअप हेटौंडाकी २१ वर्षीया सिर्जना घिमिरे घोषित भइन्। उनी हाल नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बिएससी नर्सिङ पढिरहेकी छिन्। सिर्जनालाई नायिका नम्रता श्रेष्ठले ताज लगाइदिइन्।
प्रतियोगिताको मिस ट्यालेन्टमा अस्मिता गौतम, भिवर्स च्वाइस सिर्जना घिमिरे, मिस पङ्चुअल पूजा कार्की, मिस फोटोजेनिक प्रतिज्ञा कटवाल, मिस पर्सनालिटी अस्मिता प्रधान, बेस्ट डिसिप्लेन सीता गुरुङ, बेस्ट ड्रेस्ड दीपा अधिकारी, मिस क्याटवाक ग्रिष्मा गिरी, बेस्ट स्माएल रेश्मा रिमाल, बेस्ट प्रिन्सेस मनिषा कोइराला घोषित भए।
सन् २००८ मा आयोजित युवतीहरुको सौन्दर्य प्रतियोगिता 'मिस नारायणी'पछि यो प्रतियोगिता भएको हो। २५ जना प्रतिस्पर्धीमध्ये शुक्रबार राति वीरगन्जको आदर्शनगरस्थित टाउनहलमा भएको प्रतियोगितामा २४ जना सहभागी भए।