
- रमेश लम्साल -
संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभालाई नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा महतले शान्ति प्रक्रियाको प्रमुख हिस्साका रुपमा संविधानसभाबाट संविधान जारी हुनु र त्यसमा सबै पक्षको भावना समेटिनु उल्लेखनीय रहेको बताए।
उनले संविधानमा असन्तुष्टि व्यक्त गर्दै आएका दल तथा समूहलाई पनि वार्ता र संवाद मार्फत सहमतिमा ल्याउन सरकार क्रियाशील रहेको स्पष्ट पारे।
नेपालको संविधान समावेशी, समतामूलक एवम् लोकतान्त्रिक रहेको भन्दै उनले राज्यका तीनवटा महत्वपूर्ण निकायमा महिलाको नेतृत्व रहनु विश्वमै उदाहरण रहेको बताए।
राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशमा महिलाको नेतृत्व छ, हाम्रो संविधान समावेशी र सहभागितामूलक छ भन्ने पनि यसले देखाउँछ- उनले भने।
नेपाल मानवअधिकारको सम्मान र त्यसको पूर्ण परिपालनाका लागि पूर्ण रुपमा क्रियाशील रहेको उल्लेख गर्दै मन्त्री डा महतले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजबिन आयोगमार्फत द्वन्द्वकालका मुद्दामा छानबिन तथा अध्ययन सुरु गरिएको उनको भनाइ थिय। रासस
(फाइल फोटोमा महत।)