PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

आर्सनलले चेल्सीलाई ३-० ले हरायो, म्यानचेष्टर सिटी र टोटनहमको अपराजित यात्रा कायमै



पहिलोपोस्ट

आर्सनलले चेल्सीलाई ३-० ले हरायो, म्यानचेष्टर सिटी र टोटनहमको अपराजित यात्रा कायमै

प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न लण्डन डर्बी भिडन्तमा आर्सनलले चेल्सीमाथि शानदार जित हासिल गरेको दिन शीर्ष टोलीहरु म्यानचेष्टर सिटी र टोटनहम हट्सपरले अपराजित यात्रा कायमै राखेका छन्।
 
घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले चेल्सीलाई ३-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ। आर्सनलले तीनै गोल पहिलो हाफमा गरेको हो।
 
एलेस्सिक सान्चेज, थियो वाल्कोट र मेसुट ओजिलले आर्सनलका लागि गोल गरे। जितपछि ६ खेलबाट १३ अंक जोडेको आर्सनल अंक तालिको तेस्रो स्थानमा उक्लेको छ भने १० अंक जोडेको चेल्सी आठौं स्थानमा झरेको छ।
 
म्यानचेष्टर सिटीले स्वान्सी सिटीलाई उसैको मैदानमा ३-१ ले हराउँदै छैटौं चरणसम्म शतप्रतिशत जित निकालेको छ। सिटीको जितमा सर्जियो अगुएरोले २ तथा रहिम स्टर्लिङले १ गोल गरे। स्वान्सीका लागि फ्लोरेन्ट लरेन्टले १ गोल फर्काए। सिटी ६ खेलबाट १८ अंक जोड्दै शीर्ष स्थानमा आसीन छ।
 
यता हेउङ मिन सनले पहिलो हाफमा गरेको २ गोलको मद्दतमा टोटनहमले मिडल्स्ब्रोलाई २-१ ले हराउँदै अपराजित याता कायमै राखेको हो। मिडल्स्ब्रोका लागि दोस्रो हाफमा बेन गिबसनले गोल फर्काएपनि हार टार्न पर्याप्त भएन। जितपछि १४ अंक जोडेको टोटनहम दोस्रो स्थानमा कायम छ।
 
सिटी र टोटनहमले अपराजित यात्रा कायम राखेको दिन एएफसी बर्नमाउथले एभरटनको अपराजित यात्रा समाप्त पारेको छ। घरेलु मैदान बर्नमाउथले एभरटनलाई १-० ले हरायो। उसको जितमा जुनियर स्टानिसलासले निर्णायक गोल गरे।
 
यता लिभरपुलले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको हल सिटीलाई ५-१ ले पराजित गरेको छ। घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जिताउन जेम्स मिलनरले २ तथा एडम लालाना साडियो माने र फिलिप काउटिन्होले १/१ गोल गरे। हल सिटीका डेविड मेयलरले सान्त्वना गोल गरे।
 
यस्तै २ गोलले पछि परेको स्थिति उल्टाउँदै क्रिस्टल प्यालेसले सण्डरल्याण्डलाई ३-२ ले पराजित गरेको छ। जर्मेन डेफाले २ गोल गर्दै सण्डरलयाण्डलाई २ गोलको अग्रता दिलाएका थिए। तर अन्तिम २८ मिनेटमा ३ गोल गर्दै प्यालेसले महत्वपूर्ण ३ अंक जोडेको छ। प्यालेसको जितमा जोए लेड्ली, जेम्स म्याकआर्थर र क्रिस्टियन बेनटेकेले १/१ गोल गरे।
 
अर्को खेलमा स्टोकी सिटी र वेष्ट ब्रोमिच अल्विओनले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
 
शनिबारै भएको अघिल्लो खेलमा म्यानचेष्टर युनाइटेडले लेस्टर सिटीलाई ४-१ ले पराजित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell