
स्पानिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले स्पोर्टिङ गिहोनविरुद्ध सहज जित हात पार्दा शीर्ष स्थानको रियल मड्रिड लस पलमससँग बराबरीमा रोकिएको छ।
लियोनल मेसी बिनै मैदान उत्रेको बार्सिलोनाले १० खेलाडीमा रहेर खेलेको अन्तय गरेको स्पोर्टिङ गिहोनलाई उसैको मैदानमा ५-० ले हरायो। बार्सिलोनाको जितमा नेमारले २ गोल गरे भने लुइस स्वारेज, रफिन्हा र अर्दा तुरानले १/१ गोल गरे।
गिहोनका लोरा ७४ औं मिनेटमा दोहोरो पहेँलो कार्ड सामना गर्दै मैदान बाहिरिएपछि बार्सिलोनाले ३ गोल थपेको थियो।
जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियलसँगको अंक दुरी १ अंकमा झारेको छ।
लस पलमसले आफ्नै मैदानमा रियल मडिडलाई २-२ गोलको बराबरीमा रोकेपछि रियलले बार्सिलोनासँग अंक दुरी बढाउनु मौका गुमाएको हो।
रियलले दुई पटक अग्रता लिएर पनि जोगाउन नसक्दा बराबरीमै चित्त बुझाउनुप्रयो। रियलका लागि मार्को एसेन्सिओ र करिम बेन्जामाले गोल गरे। पलमसका लागि ताना र सर्जियो अराउजोले बराबरी गरेका थिए।
बराबरीपछि पनि ६ खेलबाट १४ अंक जोडेको रियल शीर्ष स्थानमा कायमै छ। १० अंक रहेको लस पलमस पाँचौ स्थानमा छ।
अन्य खेलमा १० खेलाडीको सेभियालाई ३-१ ले पराजित गर्दै एथ्लेटिको विल्वाओ अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ। मिकेल सान जोसे, मिकेल बालेन्जियगा र अरिट्ज अडुरिजले गोल गरे। सेभियाका लागि समिर नास्रीले एक गोल गरे।
जितपछि १२ विल्वाओ १२ अंकसहित तेस्रो स्थानमा उक्लँदा ११ अंक रहेको सेभिया चौथो स्थानमा झरेको छ। ला लिगाकै अन्य खेलमा आइबरले रियल सोसिडाडलाई २-० ले हराएको छ। महत्वपूर्ण ३ अंक जोडेको आइवर १० अंक सहित छैटौ स्थानमा छ।
एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ९ अंक सहित सातौ स्थानमा छ र आज डेपोर्टिभा ला कुरानासँग खेल्दैछ।