
मुस्ताङ : जनहित युवा क्लब जोमसोमले मुस्ताङको कोबाङमा जारी ४६औँ थाक खेलकुद महोत्सव अन्तर्गत पुरुष भलिबलमा च्याम्पियन बन्दै उपाधिमाथि ह्याट्रिक गरेको छ। यस्तै महिलातर्फ डिफेन्डिङ च्याम्पियन निलगिरी युवा क्लब टुकुचेले उपाधि जितेको छ। घासा महिला र पुरुष दुवै टीमले उपविजेतामै चित्त बुझाएका छन्।
शनिबार भएको पुरुष फाइनल खेलमा जोमसोमले सिक्स सोल्टिज युवा क्लब घासालाई ३–२ सेटले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जित्न सफल भयो। महिलातर्फ टुकुचेले घासालाई ३–१ को सेटमा पराजित गर्यो।
कोबाङमा भएको फाइनलमा जोमसोमले घासालाई २५–२०, १९–२५, २५–२२, २३–२५ र १५–१३ ले हरायो। लगातार तेस्रो पटक उपाधिमाथि कब्जा जमाउँदै जोमसोमले रनिङ शिल्ड आफ्नो बनाउन सफल भयो।
महिलातर्फको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै घासाले पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पारे पनि त्यसपछि लगातार ३ सेट गुमाउँदा उपविजेता बन्यो।
पहिलो सेट हारे पनि उत्कृष्ट पुनरागमन गर्दै टुकुचेले घासामाथि २५–१९, २५–१४ र २५–१९ को सेटमा जित हासिल गरेको हो।
पुरुषतर्फ घासाका क्रिसबोध गौचन र महिलामा टुकुचेकी स्मृति थकाली उत्कृष्ट खेलाडी चुनिए। पुरुषतर्फको विजेता जोमसोमले रनिङशिल्ड, ३० हजार नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र हात पार्यो जोमसोमले रनिङशिल्डको बापत छुटृै २५ हजार नगद समेत प्राप्त गर्यो।
दोस्रो भएको घासाले २० हजार नगद पुरस्कार, ट्रफि र मेडल प्राप्त गर्यो। महिलातर्फको विजेता टुकुचेले १५ नगद पुरस्कार, ट्रफी तथा दोस्रो स्थानमा चिक्त बुझाएको घासाले ७ हजार नगद पुरस्कार ट्रफी तथा मेडल हात पार्यो।
विजेता टिमका कप्तान योगेश शेरचनले आफ्नै कप्तानीमा उपाधिमाथि ह्याट्रिक गर्न पाउँदा निकै खुसी भएको बताए। ४ दिनसम्म चलेको महोत्सवमा भलिबलमा पुरुषतर्फ ८ टिम र महिलामा ५ टिमको सहभागीता रहेको थियो।
यस्तै धनुषवाणतर्फ जोमसोमले उपाधि जित्यो। सात डोरको खेलमा जोमसोमले ४१ अकं प्राप्त गरेको थियो।
महोत्सव अन्तरगत नै भएको मिस मुस्ताङको उपाधि जोमसोमकी सम्झना राईले जितिन्। उनले ताजका साथै १० हजार नगद पुरस्कार हात पारिन्। धौलागिरी युवा क्लब कोबाङकी कमला बुढामगर दोस्रो भइन्। मिलीजुली युवा क्लब मार्फाकी कमला बुढामगर तेस्रो भइन्। दोस्रो र तेस्रोले ताज तथा क्रमश ५ हजार र ३ हजार नगद पुरस्कार हात पारे।
विजेतालाई वाणिज्य मन्त्री रोमी गौचन थकाली र थाक खेलकुद तथा सांस्कृतिक विकास सघंका अध्यक्ष प्रेमप्रसाद पुनले पुरस्कृत गरे। मन्त्री थकालीले ४६ वर्षदेखि सुरु भएको मुस्ताङकै ठूलो पर्व समेत रहेको थाक खेलकुद तथा सांस्कृतिक महोत्सव मेट्न नदिन सबैले एक भएर लाग्न अनुरोध गरे।