काठमाडौं : नेपाल राष्ट्र बैंकले दसैंका लागि आजबाट बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेको छ। बैंकहरुले भोलिबाटै नयाँ नोट सर्वसाधारणलाई उपलब्ध गराउनेछन्।
राष्ट्र बैंकको कार्यालयबाट भने सर्वसाधारणले असोज १६ गतेबाट नयाँ नोट साट्न सक्छन्। बैंक तथा वित्तीय संस्थाहरुलाई आजदेखि आउँदो १४ गतेसम्म नयाँ नोट उपलब्ध गराइनेछ।
'सर्वसाधारणले लामो लाइन बस्नु नपरोस् भनेर यसपालि कुपन वितरण गरिनेछ,' राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भने, 'सर्वसाधारणलाई यसपालि पोहोरभन्दा बढी नोट पनि उपलब्ध गराइनेछ।'
राष्ट्र बैंकले एक जनालाई ३७ हजार रुपैयाँ नयाँ नोट उपलब्ध गराउने भएको छ । नोट थापाथलीस्थित कार्यालयसँगै क्षेत्रीय कार्यालयबाट पनि उपलब्ध हुनेछ।
राष्ट्र बैंकले पाँचदेखि सय रुपैयाँसम्मका नोटहरु दुईदुई बिटाका दरले उपलब्ध गराउनेछ। यसो हुँदा एक जनाको भागमा ३७ हजार रुपैयाँ सटही सुविधा हुन्छ। गत वर्ष एक जनालाई २२ हजार रुपैयाँ सटही सुविधा दिइएको थियो।