.jpg)
काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण सभा मार्फत हुने अध्यक्ष पदको निवाचनका लागि कर्मा छिरिङ शेर्पाले उम्मेदवारी दर्ता गराएका छन्।
आगामी कात्तिक ८ गते हुने निवाचनका लागि कर्माले आइतबार एन्फा कम्प्लेक्समा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। कर्मासँगै दिपक खातीले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली फुटबलमा परिवर्तनको समय भएको र त्यसैको लागि आफुहरुको उम्मेदवारी रहेको उनीहरुले बताएका छन्।
गत शुक्रबार एन्फाका कार्यवाह अध्यक्ष नरेन्द्र लाल श्रेष्ठले अध्यक्ष र मणि कुँवरले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका थिए। यस्तै राष्ट्रिय फुटबल टीमका पूर्व कप्तान तथा गोलरक्षक उपेन्द्रमान सिंहले पनि शुक्रबारै उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन्।
अहिलेसम्म अध्यक्ष पदका लागि २ र उपाध्यक्ष पदका लागि ३ जनाको दाबेदारी परेको छ। अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका मनाङ मर्स्याङ्दी क्लबका पूर्व अध्यक्ष टाशी घलेले अध्यक्ष पदमा उम्मेदवारी नदिने घोषणा गरिसकेका छन्। यस्तै अध्यक्षमा दाबेदारी दिने चर्चा चलेपनि विज्ञान राज शर्माले उम्मेदवारी दर्ता गराएका छैनन्।
कात्तिक ८ गते विशेष साधाराण सभामार्फत अध्यक्ष र उपाध्यक्षको रिक्त स्थानको लागि निर्वाचन हुँदैछ।
फिफाले करिब दुई दशकदेखि एन्फा नेतृत्वमा रहेका गणेश थापालाई विभिन्न भ्रष्टाचार अभियोगमा १० वर्षको प्रतिबन्ध र करिब २१ लाख जरिवाना लगाए पनि पहिलोपटक नेपाली फुटबलको सर्वोच्च निकाय नेतृत्वको लागि चुनाव हुन लागेको हो।
तत्कालीन उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको गत जेठमा करेन्ट लागेर निधन भएपछि एन्फाको उपाध्यक्ष पद पनि रिक्त छ। यिनै दुई पदको लागि एसियाली फुटबलको निर्देशनमा कात्तिक ८ गते आगामी एकवर्षे कार्यकालको लागि चुनाव हुन लागेको हो।