काठमाडौं : वाइवाइ इपीएल टी २० क्रिकेट प्रतियोगिताको दोस्रो दिन कान्तिपुर गोर्खाजले सगरमाथा लेजेण्ड्समाथि सहज जित हात पारेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो खेलमा गोर्खाजले लेजेण्ड्सलाई ७ विकेटले हरायो।
वर्षाका कारण विशाल वारियर्स विरुद्धको उद्घाटन खेल नखेली अंक बाँडेको गोर्खाजलाई दोस्रो खेलमा बलरहरु र ओपनरद्वय प्रदिप ऐरी र सुवास खकुरेलले जिताए।
१२५ रनमो सहज लक्ष्य गोर्खाजले ३० बल बाँकी छदै ३ विकेट गुमाएर भेट्टायो। जितको आधार खडा गर्ने क्रममा गोर्खाजका ओपनर सुवास र प्रदिपले गतिलो सुरुवात दिलाए।
इपीएलको पहिलो अर्धशतक पुरा गर्ने क्रममा प्रदिपले गोर्खाजको लागि सर्वाधिक रन बनाए। ३९ बल खेलेका प्रदिपले ७ चौका र २ छक्काको मद्वतमा ५५ रन बनाएका हुन्। प्रदिपलाई गतिलो साथ दिएका सुवासले २८ बल खेल्दै ४ चौकाको मद्वतमा ३५ रन जोडे।
गोर्खाजलाई जिताउने काम भने आक्रमक ब्याटिङ गरेका अनिल शाह र आकाश गुप्ताले गरे। अनिलले शाहले ९ बलमा १४ रन जोडे भने ६ बल खेलेका आकाश गुप्ताले ११ रन बनाए। नटआउट रहेका दुवै खेलाडीले समान १/१ चौका र छक्का प्रहार गरे।
९ बल खेलेका गोर्खाजका अन्तिम थापा भने ४ रनमै आउट भए। बलिङमा लेजेण्ड्सका राहुल कुमार विकले ३ वटै विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको विनोद भण्डारीको सगरमाथा लेजेण्ड्सले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतीमा १२४ रन मात्र बनाउन सक्यो। लेजेण्ड्सको लागि सर्वाधिक २४ रन अतिरिक्तबाट प्राप्त भएको थियो। गोर्खाजका बलरले १८ वाइड, ५ लेगवाई र १ नो बल फालेका थिए।
नियमित रुपमा विकेट गुमाएका लेजेण्ड्सका लागि मेहवुव आलमले २३ रन बनाए भने ओपनर सुनिल धमलाले २१ रन जोडे। यस्तै विक्रम सोबले १४, विकेटकिपर दिलिप नाथले १३, तथा कप्तान विनोद भण्डारीले ११ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।
सन्दिप सुनार ७, राहुल कुमार विक २ तथा अनिल कुमार मण्डल र रुपेश श्रीवास्तव समान १ १ रनमा आउट भए। चन्द्र सावद ७ तथा लाल बहादुर अधिकारी १ रनमा नटआउट रहे।
लेजेण्ड्सलाई कम स्कोरमा रोक्न गोर्खाजका कप्तन बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए भने ललित सिंह भण्डारी र सन्तोष भट्टले २/२ तथा अभिनास बोहरा र ललित राजवंशीले १/१ विकेट लिए।
अाइतबारै भएको पहिलो खेलमा शरद भेषवाकरकाे पन्चकन्या तेजले जगदम्बा राइनोलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।