PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

ओलीले भने - 'सिकार गरेर लम्पसार परेको बाघ जस्तो काँग्रेसको अवस्था'



पहिलोपोस्ट

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले देशको हितमा सही ठाउँबाट उठेका प्रश्नमाथि छलफल गर्न तयार रहेको बताएका छन्। उनले ठूला दलको नाताले सरकारमा पटक–पटक सहभागी नेपाली काँग्रेससँग बिपीको नाम भएपनि नीति र कार्यक्रम छ कि छैन भन्दै प्रश्न गरे।

पत्रकार गोपाल खनालले लेखेको ‘भू–राजनीति’ पुस्तकको विमोचन कार्यक्रममा ओलीले सत्तारुढ कांग्रेसलाई व्यङ्ग समेत गरे। उनले कांग्रेस सुतिरहेको टिप्पणी गरे।

'बाघले सिकार गरेपछि लम्पसार परेर सुतेजस्तै काँग्रेसको अवस्था छ', उनले भने। 

कार्यक्रममा नेताहरु भारत र चीनले तीव्ररुपमा आर्थिक विकास गरिरहेको अवस्थामा तीन अर्ब जनसङ्ख्या भएको बजारबाट नेपालले आर्थिक लाभ लिन सक्नुपर्ने बताए।


नेताहरुले नेपालको भू–राजनीति संवेदनशील रहेको र भू–राजनीतिक धरातलको यथार्थतालाई स्वीकार गर्दै नेपालले पनि आन्तरिकरुपले राम्रोसँग व्यवस्थापन गर्न सकेमा मात्र देशको आर्थिक विकास हुने तर्क गरे। 

दुई ढुङ्गाबीचको तरुल भनेर नेपालले गुम्सिएर वा निसास्सिएर कसे देशले कहिल्यै आर्थिकरुपमा फड्को मार्न नसक्ने उनीहरुको धारणा थियो।

कार्यक्रममा अध्यक्ष ओलीले नेपालको विदेशनीति असंलग्न आन्दोलनका आधारमा नयाँ प्रकारको औचित्यपूर्ण वैदेशिक सम्बन्ध हुनुपर्ने बताए।

अर्का पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधव नेपालले माओवादीसँगको १२ बुँदे सम्झौता गर्न आफूले ठूलो योगदान गरेको चर्चा गर्दै रोल्पादेखि नयाँ दिल्लीसम्म १२ बुँदे समझदारी निर्माण गर्न आफूले दौडधूप गरेको बताए।


नेता नेपालले भने – 'लिच्छवि राजा अंशुवर्माले देशको स्वतन्त्रता बचाउन छोरी भृकुटीलाई राजा स्रङ्चङगम्पोसँग विवाह गरी कूटनीतिक दूरदर्शीता प्रदर्शन गरेको इतिहास छ। हामी अरु मुलुक सामु झुक्नु भने हुँदैन।' 

उनले एमालेको प्रष्ट धारणा नेपाल एउटा स्वतन्त्र र स्वाभिमानी मुलुक हो, त्यसैले भारतको प्रभावबाट नेपाललाई मुक्त पार्नुपर्ने रहेको बताए।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आज विमोचन भएको पुस्तकमा १२ बुँदे सम्झौतासहित केही कुरामा गम्भीर गल्ती रहेको चर्चा गर्दै भारत र चीनको आर्थिक विकासबाट पाठ सिकेर नेपाल अघि बढ्न नसकेमा भविष्यमा नेपालले ठूलो मूल्य चुकाउनुपर्ने बताए। 

नेपालको भू–राजनीतिक यथार्थलाई स्वीकार गरेर यथार्थ धरातलमा टेकेर कसरी अगाडि बढ्नुपर्ने उनको तर्क थियो।

श्रेष्ठले भने - “नेपालको परराष्ट्र नीतिका विषयमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर राष्ट्रिय सहमति बनाउनुपर्छ। राजनीतिक र कूटनीतिक पहलकदमीले मात्र दुई मुलुकसँग राम्रो सम्बन्ध कायम राख्न सक्छौँ।” 

पूर्वमन्त्री डा रामशरण महतले भारत र चीनले गरेको तीव्र आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्ने सुझाव दिँदै त्यसका लागि नेपालले आन्तरिकरुपमा राम्रो व्यवस्थापन गर्नुपर्ने बताए। 

भारतसँगको कूटनीतिक विषयमा रहेका समस्या कूटनीतिक ढङ्गले समाधान गर्नुपर्ने उनको तर्क थियो।

५०० पृष्ठको पुस्तकमा भारतमा पत्रकारिता गर्दा आफूले गरेको अनुभवलाई लेखकले समेट्न खोजेको छन्। पुस्तकमा भारतको मामिलामा सात खण्ड र चीनको मामिलामा एक खण्डमा विष्लेषण गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell