
काठमाडौँ : प्रमुख तीन राजनीतिक दलबीच स्थानीय तह पुनःसंरचनाबारे सैद्धान्तिक सहमति भएको छ।
प्रधानमन्त्रीको आह्वानमा आज साँझ बालुवाटारमा भएको तीन दलको बैठकमा स्थानीय तह पुनःसंरचनाबारे सैद्धान्तिक सहमति जुटेको बताइएको छ।
बैठकमा स्थानीय तह पुनर्संरचना आयोगको कामबारे समीक्षा भई पुराना इलाकाहरुलाई आधार मानेर त्यसको संख्या र सीमा आसपास स्थानीय तह पुनर्संरचना गर्न आयोगलाई आग्रह गर्ने सहमति भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले बताए। एमाले सचिव योगेश भट्टराईले ट्विट मार्फत दलहरुबीच स्थानिय तहको संख्यामा सहमति जुटेको जानकारी दिएका छन्। उनले अधिकतम सयको संख्यामा तह बनाउने मिलनबिन्दु बनेको जनाएका छन्।
“स्थानीय तह पुनःसंरचना आयोगको काम प्रभावित नहुने गरी विगतका इलाकीय संरचनालाई आधार मानेर स्थानीय तहको सङ्ख्या र सीमा निर्धारण गर्ने सैद्धान्तिक सहमति भएको छ । अब सरकारले दलीय सहमतिअनुसार आयोगलाई थप निर्देशित गरेर स्थानीय तहको काम टुङ्ग्याउनेछ”– उनले भने।नगरपालिका र पुराना ईलाकालाई समायोजन गर्दा ६५० देखि ७०० सम्म स्थानिय तहको संख्या हुनसक्छ । यो सबैको मिलनबिन्दु हो । ३ दलको सहमति ठीक छ ।
— Yogesh bhattarai (@yogeshuml55) September 26, 2016
नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले स्थानीय तहको संरचनाबारे तीन दलबीच सहमति जुटेको बताए।
“हामीले आफ्नो पार्टीको धारणा राख्यौं, धेरै सङ्ख्या हुनुहुन्न, आयोगलाई दबाब पनि दिनु हुँदैन तर सरकार स्थानीय निकायको निर्वाचन चाँडो गराउने पक्षमा हो भने एमाले लचिलो बन्छ भन्यौँ, त्यसमा प्रधानमन्त्रीले चाँडो निर्वाचन गराउने चासो देखाउनु भएकाले सकारात्मक रुपमा लिएका छौँ, इलाकालाई आधार मानेर सङ्ख्या निर्धारण गर्ने सहमति भएको छ”– उनले भने।
उपाध्यक्ष रावलका अनुसार तीन दलको निर्णयअनुसार स्थानीय तहको मापदण्डमा केही फेरबदल गर्न सरकारले संविधानको व्यवस्थाअनुसार आयोगलाई सिफारिस गर्नेछ।
बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेताको सहभागिता थियो। रासस