
स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा खेलमा एथ्लेटिकोले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको डेपोर्टिभा ला कुरानालाई १-० ले पराजित गरेको छ।
पहिलो हाफमा फेसल फजरले दोहोरो पहेँलो कार्ड सामना गरेपछि ला कुरानाले दोस्रो हाफमा १० खेलाडीमा रहेर खेलेको थियो। त्यसैको फाइदा उठाउँदै एन्टोनी ग्रिजमनले ७० औं मिनेटमा निर्णायक गोल गर्दै एथ्लेटिकोलाई जिताए।
जितपछि ६ खेलबाट १२ अंक जोडेको एथ्लेटिको तेस्रो स्थानमा उक्लेको छ। छैटौ चरणसम्म अपराजित रहेको एथ्लेटिकोले समान ३ खेलमा जित र बराबरीको नतिजा निकालेको छ।
यस्तै ओसासुनालाई ३-१ ले पराजित गर्दै एथ्लेटिको समान १२ अंक जोडेको भियारियाले गोल अन्तरका आधारमा चौथो स्थानमा छ। भियारियालको जितमा अलेकजान्डर पाटो, कप्तान ब्रुनो सोरिआनो र निकोला सानसोनले गोल गरे। ओसासुनाका रोवर्ट टोरेसले सान्त्वना गोल फर्काए।
यता सुरुवाती ४ खेल हारेको भ्यालेन्सियाले लगातार दोस्रो जित हात पारेको छ। १ गोलले पछि परेको स्थिति उल्टाउँदै भ्यालेन्सियाले लेगानेसलाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो।
भ्यालेनिसयाको जितमा नानी र मारियो स्वारेजले गोल गरे। यसअघि अलेकजान्डर सिमानोस्कीले गोल गर्दै लेगानेसलाई पहिले अग्रता दिलाएका थिए। तर सिमानोस्कीले नै पेनाल्टीमा गोल गर्न चुक्दा लेगानेसले बराबरी गर्ने मौका गुमाएको थियो।
लगातार दोस्रो जितपछि ६ अंक जोडेको भ्यालेन्सिया अंक तालिकामा १५ औं स्थानमा उक्लेको छ।
अर्को खेलमा सेल्भा भिगोले स्पानयोललाई २-० ले हरायो। सेल्टाको जितमा गुसिपे रोसी र पियोने सिस्टोले खेलको अन्त्यतिर गोल गरेका हुन्। जितपछि ६ खेलबाट ७ अंक जोडेको सेल्टा ११ औं स्थानमा उक्लेको छ।