काठमाडौं : त्रिशूली नदीमा कार दुर्घटनामा परी बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका भाइहरुको खोजीकार्य आज पनि बिहानैदेखि थालिएको छ।
मुक्तिनाथबाट काठमाडौं आउने क्रममा हिजो बेलुका घिमिरे सवार बा ९ च १५३१ नम्बरको स्कार्पियो कार त्रिशूली नदीमा खसेको थियो ।
केही दिनदेखि पानी परेका कारण नदीमा खोजीकार्यमा समस्या आएको छ। पानीको बहाव बढेकाले खोजी कार्यमा जुटेको टोलीलाई केही समस्या आएको चितवन ट्राफिक कार्यलयका प्रमुख राजन भेट्वालले पहिलोपोस्टलाई जानकारी दिए। 'केही साँघुरो र गहिरो ठाउँमा दुर्घटना भएकाले पनि समस्या भएको छ,' उनले भने।
बेपत्ता घिमिरेसहित उनका आफन्तको खोजीका लागि चार वटा डुंगा प्रयोग गरिएको छ। नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको पनि भेटवालले जानकारी दिए। घटनास्थलमा सय जनाभन्दा बढी सुरक्षाकर्मी खोजी कार्यम परिचालित छन्।
दुर्घटना भएको केही घन्टामा नै प्रहरीले जिपमा सवार पूर्वगृहमन्त्री घिमेरकी ८० वर्षीया आमा चैत्यकुमारी घिमिरे र अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायण प्रसाद काफ्नेको शव फेला पारेको थियो। गाडी चालकको भने जीवितै उद्धार गरिएको छ।
यसैबीच, घटनाको अवस्था बुझ्न यातायात मन्त्री रमेश लेखक केही बेरमा त्रुशूली पुग्दैछन्।
घिमिरेको कार मुग्लिन नजिकै दारेचोकको घोप्टेभिरबाट खसेको थियो। दमौलीमा खाजा खाएपछि गाडी प्रहरी हवल्दार विष्णु राईले चलाएका थिए। उनको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।