काठमाडौं : संगीतकार तथा गीतकार दीपक जंगमले अन्य पेसा र संगीत क्षेत्रलाई एकैपटक अघि बढाउन सक्नुलाई 'हिम्मत'को संज्ञा दिएका छन्। उनले दुवै क्षेत्रमा संघर्ष गरिरहेकाबाट समाजले फाइदा लिन सक्ने बताए।
पेसाले सिभिल इन्जिनियर भए पनि चौथो एल्बम बजारमा ल्याएका सुमन श्रेष्ठ संगमको संगीत साधनाको बखान गर्दै जंगमले त्यसो भनेका हुन्। उनी आफैं पनि प्राध्यापक डाक्टर हुन्। जंगम भन्छन्, 'मुल पेसा एउटा, रुचि अर्को हुँदा मान्छेले एउटालाई छोड्ने गर्छन् तर संगमले दुवै क्षेत्रमा आफूलाई पुष्टि गरेका छन्।'
संगीतकार जंगमले सक्नु/नसक्नु छुट्टै कुरा भए पनि निरन्तर प्रयास गर्नुले कतै न कतै पुगिने बताए। 'उसको साधनाको उपज हो चार वटा सफल एल्बम,' संगमको प्रशंसा गर्दै उनले भने।
जंगम र संगीतकार एवंम् रेडियो नेपालका उपनिर्देशक टीका भण्डारीको साथमा संगमले चौथो एल्बम 'चर्खा' र म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। उनले भने, 'सबैको साथ र मायाले फेरि नयाँ गीत लिएर आएको छु। आशा छ, गीतलाई स्रोता-दर्शकले माया गर्नुहुनेछ।'
'चर्खा'मा रहेको 'धागो चर्खाको, छोराछोरी आफ्नो राम्रो स्वास्नी अर्काको' गीतको भिडियो उनले आफ्नो जन्मदिनको अवसर पारी सार्वजनिक गरे।
केदार धितालले निर्देशन गरेको भिडियोमा मोडल किरण लाकौल, पूजना प्रधान, श्रेया कार्की, रचना लामा, करिश्मा, अमृत शाही ठकुरी, निशा लगायतको मोडलिङ छ।
गायक संगमलाई स्वरमा साथ दिएकी छिन्, अञ्जु पन्तले। गीतमा वेद प्रसादको शब्द, सूर्य किरण लामाको संगीत छ। निशान घिमिरेले सम्पादन गरेको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन्।
म्युजिक भिडियो-