
काठमाडौं : पञ्चकन्या तेजले वाइवाइ इपिएल एभरेस्ट प्रिमियर लिग इपिएल टी २० क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न दिनको पहिलो खेलमा तेजले कलर्स एक्स फ्याक्टरलाई ३४ रनले पराजित गरेको हो।
१५५ रनको लक्ष्य पछ्याएको एक्स फ्याक्टरलाई १२० रनमा रोक्दै तेजले दोस्रो जित हासिल गरेको हो। आइतबार भएको आफ्नो पहिलो खेलमा तेजले जगदम्बा राइनोलाई ६ विकेटले पराजित गरेको थियो। लगातार दोस्रो जितसँगै ४ अंक जोडेको तेज अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।
एक्स फ्याक्टरले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको तेजले ओपनर आसिफ शेखको अर्धशतकको मद्दतमा ३ विकेट गुमाउँदै १५४ रनको स्कोर खडा गरेको थियो। आसिफले ६० बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ६७ रन बनाए। आसिफले पहिलो विकेटका लागि सन्जय श्रेष्ठसँग ५१ र दोस्रो विकेटका लागि कप्तान शरद भेषावकरसँग ८३ रनको साझेदारी गरे। भेषावकरले ४० तथा श्रेष्ठले २४ रनको योगदान गरे। तेजका पृथु बास्कोटा ७ तथा दिपेन्द्रसिंह ऐरी १ रनमा नटआउट रहे। बलिङतर्फ एक्स फ्याक्टरका अभिनाश कर्ण, अमर रतौला र सनजम रेग्मीले १/१ विकेट हात पारे।
जवाफमा १५४ रनको लक्ष्य पछ्याएको एक्स फ्याकटरले पूरै २० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १२० रन मात्र बनाउन सक्यो। नियमित अन्तरमा विकेट गुमाउँदा एक्स फ्याक्टरले लक्ष्य भेट्टाउन सकेन। उसका लागि हिमांशु दत्तत्रले नटआउट रहदै २८ रन बनाए। हरिशंकर शाहले २५, योगेन्द्रसिंह कार्कीले २१ तथा कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।
राजेश पुलामी मगर ५, अमर रतौला ४, सिद्धान्त लोहनी २ तथा अभिनाश कर्ण १ रनमा आउट भए भने ओपनर फैजुल रहेमानले खाता समेत खोल्न सकेनन्।
एक्स फ्याक्टरलाई कम स्कोरमा रोक्न उत्कृष्ट बलिङ गरेका तेजका कप्तान शरद भेषावकर र करण केसीले ३/३ विकेट लिए। दिपेन्द्रसिंह ऐरी र सुशिल कँडेलले १/१ विकेट झारे।
अलराउण्ड प्रदर्शन गरेका तेजका कप्तान शरद म्यान अफ दि म्याच चुनिए।
सोमबारै हुने दोस्रो खेलमा पारस खड्काको विशाल वारियर्स र विनोद भण्डारीको सगरमाथा लेजेण्ड्सबीच खेल हुनेछ। वारियर्स र कान्तिपुर गोर्खाजको उद्घाटन खेल वर्षाले रद्द भए पनि १/१ अंक बाँडेका थिए। लेजेण्ड्स भने पहिलो खेलमा गोर्खाजसँग पराजित भएको थियो।