
- प्रदीप ज्ञवाली
म कर्नाली!
बगाइरहेछु निरन्तर दुधको नीलो धारा
पार गर्दै गहिरा खोंच, कन्दरा र भीरहरु
सिंचिरहेछु तिम्रा आँत र खेतखलियानहरु
रित्याएर आफूलाई
म आफैं बनिरहेछु उजाड पठार!
म कर्नाली!
खेलिरहेछु निरन्तर तिम्रा ओठ र गलाहरुमा
शब्द, निःशब्द युगौंयुगदेखि गाइरहेछु पीडाको धमारी!
पठाएर रातो मार्सी
तिम्रा भोजनगृहहरुमा
लडिरहेछु एक मुठ्ठी कुहेको चामलको युद्ध
एक चिम्टी नून र एक फाँको गहुँको युद्ध
ओढाएर तिमीलाई न्यानो राडी
म तापिरहेछु नाङ्गो आकाश!
म कर्नाली!
लुटाएर यार्चागुम्बा–वर्द्धन गराइरहेछु तिम्रो वीर्य
र युगौंदेखि तिमीबाटै भइरहेछु बलात्कृत!
खोसाएर हाम्रा बारीका राता स्याउहरु
टोकाइरहेछु नाबालक छोरीका कलिला गाला!
हामीलाई त प्रकृतिले समेत सौताकी छोरी ठान्छ
घामले हरेक दिन सिरेटोको तीर हानेर जान्छ!
बर्खाले बर्षेनी बादलको चँदुवामा
दुई थोपा आँसु झारेर जान्छ!
म कर्नाली!
तिम्रो क्रान्तिको तुइनमा उल्टो झुण्डिएर
पार गर्छु पगली तिला!
उम्रिन्छन् कि भनेर शान्तिका कागुनु
हरदिन पानी हाल्छु निधारको बाल्टीबाट
कोटबाडाको समाधीस्थलमा
पसिना र आँसु पुछ्दापुछ्दै फाटिजान्छ सिस्नुको टोपी
र मैलाई हेरेर अचम्मसँग हाँसिरहन्छ सैपाल हिमाल!
मेरो सुस्केरा तिम्रो जुलुसको नारा बन्न सक्दैन
मेरो पीडा तिम्रो सिरानीको सपना बन्न सक्दैन
मेरा दुःखका कथाहरु टायर बनेर बल्दैनन्!
र चक्काजाम हुँदैन चौरी लड्ने भीरका गोरेटोहरुमा!
आगो बोकेर बल्दैनन्
घुच्ची, डाँफे र चंखेली लेकहरु!
तिम्रो चिल्लो गालामा पलाएको
म कुरूप डण्डिफोर!
तिम्रो छन्दोबद्ध सिलोकभित्रको
म एउटा छन्दभङ्ग हरफ!
कि शक्तिको कवाफमा
उम्रिएको हड्डी!
म सत्ताको हलुवामा मिसिएको
खस्रो न खस्रो बालुवा!
म कर्नाली!
तिमीबाट बलात्कृत छु युगौंदेखि
तर अब कसरी बोल्नेछु म– हेरिराख
ओ निर्दयी काठमाडौं?
(ज्ञवालीको आज विमोचन हुने कविता संग्रह 'बिना सालिकका नायकहरु' बाट)