PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

त्रिशूलीमा बेपत्ता पूर्वगृहमन्त्रीको खोजी गर्न बंगलादेशबाट गोताखोर झिकाउने प्रमको तयारी



पहिलोपोस्ट

त्रिशूलीमा बेपत्ता पूर्वगृहमन्त्रीको खोजी गर्न बंगलादेशबाट गोताखोर झिकाउने प्रमको तयारी

चितवन : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुर्घटनामा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीन जनाको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।
 
दुर्घटनास्थल दारेचोक गाविस–३ घोप्टेभिरमा आज प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उनले के कस्तो जनशक्ति र उपकरण आवश्यक पर्छ त्यसमा कत्ति पनि कन्जुस्याइँ नगरी खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिए। त्यस क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी घटनास्थलको अवस्था र खोजी कार्यको बारेमा जानकारी गराएका थिए।
 
प्रधानमन्त्री दाहालले मन्त्री लेखकसँग बङ्गलादेशमा पानीभित्र हराइरहेका मानिस र गाडी पत्ता लगाउने गोताखोर भएको आफूले सुनेको बताउँदै त्यसलाई झिकाउन कूटनीतिक पहल गर्ने बताएका छन्। अन्य स्रोतसाधनका विषयमा पनि उच्च सुरक्षा निकायसँग तत्काल छलफल गर्ने प्रधानमन्त्रीले बताएको लेखकले जानकारी दिए।
 
प्रधानमन्त्री दाहालले भैसालोटन ब्यारेज बन्द गरेर त्यो क्षेत्रसम्म खोजी कार्यलाई तीव्रता दिन स्थानीय सुरक्षा निकायलाई निर्देशन दिए। मन्त्री लेखकले स्थानीयस्तरमा खोजी कार्यका कुनै विशेषज्ञ छन् भने खोज्न आग्रहसमेत गरेका छन्।
 
लेखकले दुर्घटनास्थलमा भाँचिएको रेलिङ तत्काल मर्मत गर्न पनि निर्देशन दिए।
 
घटनास्थलको निरीक्षण गर्न आएका मन्त्री लेखकले त्रिशूली नदी तटीय क्षेत्रलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा सरकार गम्भीर भएको भन्दै यस विषयमा मन्त्रिपरिषदमा पनि छलफल हुने बताएका छन्। बाटोमा सवारीसाधन बिग्रिएर सडक अवरुद्ध हुने र दुर्घटना बढाउने भन्दै यो क्षेत्रमा एउटा क्रेन राखेर बिग्रिएका सवारी तत्काल हटाउने व्यवस्था गर्न पनि उनले निर्देशन दिए।
 
प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नदीको २५ मिटर गहिराइसम्म गएर खोजी कार्य गरिएको बताउँदै त्योभन्दा पनि गहिराइमा जाने प्रविधि र जनशक्ति आफूहरुसँग नभएको जानकारी गराए।
 
तीनवटा डुङ्गा र एउटा र्‍याफ्टिङ प्रयोग गरी नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी खोजी कार्यमा जुटिरहेका छन्। मध्याह्न १२ बजेसम्म बेपत्ता तीन जना र गाडी पत्ता लगाउन सकिएको छैन।
 
पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका तीन दाजुभाइ आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस– ३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए। मुक्तिनाथबाट काठमाडौं आउने क्रममा घिमिरे सवार बा ९ च १५३१ नम्बरको स्कार्पियो कार नदीमा खसेको हो। दुर्घटना भएको केही घन्टामा नै प्रहरीले पूर्वगृहमन्त्री घिमेरकी ८० वर्षीया आमा चैत्यकुमारी र अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायण प्रसाद काफ्नेको शव फेला पारेको थियो। गाडी चालकको भने जीवितै उद्धार गरिएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell