PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

पत्रकार गोपाल खनालको पुस्तक 'भूराजनीति'माथि नेताहरुको यस्तो टिप्पणी



पहिलोपोस्ट

पत्रकार गोपाल खनालको पुस्तक 'भूराजनीति'माथि नेताहरुको यस्तो टिप्पणी

काठमाडौं : पत्रकार गोपाल खनालको पुस्तक भू–राजनीति’ सार्वजनिक भएको छ। पुस्तक विमोचनमा बोलाइएका नेताहरुले नेपालको भू–राजनीति संवेदनशील रहेको र भू–राजनीतिक धरातलको यथार्थतालाई स्वीकार गर्दै नेपालले पनि आन्तरिकरुपले राम्रोसँग व्यवस्थापन गर्न सक्नुपर्नेमा जोड दिएका छन्।
 
दुई ढुङ्गाबीचको तरुल भनेर नेपालले गुम्सिएर वा निसास्सिएर बस्यो भने देशले कहिल्यै पनि आर्थिकरुपमा फड्को मार्न नसक्ने भएकाले कूटनीतिक र राजनीतिक पहलकदमी गरेर दुवै मुलुकसँग राम्रो सम्बन्धको विकास गर्नुपर्ने उनीहरुको भनाइ थियो। 

कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले देशको हितमा सही ठाउँबाट उठेका प्रश्नमाथि छलफल गर्न तयार रहेको चर्चा गर्दै ठूला दलको नाताले सरकारमा पटक–पटक सहभागी नेपाली कांग्रेससँग बिपीको नाम भए पनि नीति र कार्यक्रम छ कि छैन भन्ने प्रश्न गरे। बाघले सिकार गरेपछि लम्पसार परेर सुतेजस्तै कांग्रेसको अवस्था रहेको उनले आरोप लगाउन भ्याए।

नेपालको वैदेशिक नीतिबारे ओलीले भने, 'नेपालको विदेश नीति असंलग्न आन्दोलनका आधारमा नयाँ प्रकारको औचित्यपूर्ण वैदेशिक सम्बन्ध हुनुपर्छ। एमाले यसको पक्षमा छ।' 

अर्का पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीसँगको १२ बुँदे सम्झौता गर्न आफूले ठूलो योगदान गरेको चर्चा गरे। रोल्पादेखि नयाँ दिल्लीसम्म १२ बुँदे समझदारी निर्माण गर्न आफूले दौडधूप गरेको अनुभव पनि उनले सुनाए।
'लिच्छवि राजा अंशुवर्माले देशको स्वतन्त्रता बचाउन छोरी भृकुटीलाई राजा स्रङ्चङगम्पोसँग विवाह गरी कूटनीतिक दूरदर्शिता प्रदर्शन गरेको इतिहास छ,' नेता नेपालले थपे, 'हामी अरु मुलुकसामु झुक्नु भने हुँदैन।' 

नेकपा माओवादी केन्द्र का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले विमोचित पुस्तकमा १२ बुँदे सम्झौतासहित केही कुरामा गम्भीर गल्ती रहेको चर्चा गर्दै भारत र चीनको आर्थिक विकासबाट पाठ सिकेर नेपाल अघि बढ्न नसकेमा भविष्यमा नेपालले ठूलो मूल्य चुकाउनुपर्ने टिप्पणी गरे। 'नेपालको भू–राजनीतिक यथार्थलाई स्वीकार गरेर यथार्थ धरातलमा टेकेर कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा सबै पक्ष गम्भीर हुनैपर्छ,' उनले भने।
 
पूर्वमन्त्री डा. रामशरण महतले भारत र चीनले गरेको तीव्र आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्ने सुझाव दिँदै त्यसका लागि नेपालले आन्तरिकरुपमा राम्रो व्यवस्थापन गर्नुपर्ने बताए। भारतसँगको कूटनीतिक विषयमा रहेका समस्या कूटनीतिक ढङ्गले समाधान गर्नुपर्ने आवश्यकतामा पनि उनले जोड दिए।

पाँच सय पृष्ठको पुस्तक भारतमा पत्रकारिता गर्दा आफूले गरेको अनुभवलाई समेट्न खोजेको लेखक खनालले बताएका छन्। पुस्तकमा भारतको मामिलाबारे  सात र चीनबारे एक खण्डमा विश्लेषण गरिएको छ। पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell