
काठमाडौं : इराक र अफगानिस्तानमा यसअघि लगाइएको प्रतिबन्ध हटाउने सरकारले तयारी गरेको छ।
श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले आज रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा यसबारे जानकारी दिएका छन्। ती देशमा जाने नेपालीको प्रतिबन्ध हटाउनेबारे आगामी क्याबिनेटले निर्णय गर्ने उनको भनाइ छ।
'दुवै देशमा कामदार पठाउने कुरामा दबाब आएको छ, सरकारले अबको क्याबिनेटमा निर्णय गर्छ,' मन्त्री गुरुङले भने, 'प्रधानमन्त्रीले पनि मलाई प्रस्ताव पेश गर्न भन्नुभएको छ।'
अफगानिस्तान र इराकस्थित अमेरिकी, बेलायत लगायतका दूतावासमा नेपाली कामदार पठाउन काठमाडौंस्थित अमेरिकी र बेलायती राजदूतले प्रधानमन्त्रीलाई दबाब दिएको पनि उनले जानकारी दिए। 'उहाँहरुले प्रधानमन्त्रीसँग भेटेर दबाब दिनुभएको छ, नेपाली कामदारहरुको पूर्ण सुरक्षाको प्रत्याभुति गर्छौं भन्नुभएको छ,' मन्त्री गुरुङले भने, 'रेड जोनबाट ग्रिन जोनसम्म पुर्याउनका लागि उनीहरुले बुलेटप्रुफ साधनको व्यवस्था गर्ने समेत प्रतिबद्धता जनाएका छन्।'
मन्त्री गुरुङले फ्रि भिसा फ्रि टिकटको नाममा कसैले मोटो रकम लिएको थाहा पाए त्यसलाई कडा कारबाही गरिने चेतावनी समेत दिएका छन्। आफू फ्रि भिसा, फ्रि टिकट व्यवस्थाको विरुद्धमा नभएको उनको जिकिर थियो। 'मलाई प्रलोभनमा पार्नेगरी कुनै प्रस्ताव आयो भने वा पैसाको बिटो लिएर कोही आए भने म पत्रकारहरलाई खबर गर्छु,' उनले भने।