PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

लोकमानलाई महाभियोग लगाउन माग गर्दै गोविन्द केसी नवौं अनसनमा



पहिलोपोस्ट

लोकमानलाई महाभियोग लगाउन माग गर्दै गोविन्द केसी नवौं अनसनमा

काठमाडौं : चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै डा. गोविन्द केसीले आजदेखि नवौं पटकको आमरण अनसन सुरु गरेका छन्।
 
केसीले त्रिभुवन विश्वाविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको गणेशमान भवनमा अनसन सुरु गरेका हुन्। केसीले अनसनसँग आफ्ना चार बुँदे माग समेत अगाडि सारेका छन्। जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र राजनारायण पाठकलाई महाभियोग लगाउनुपर्ने समेत उल्लेख छ। 

अनसन सुरु गर्नुअघि केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– 'लोकमानसिंह कार्कीविरुद्ध एकपछि अर्को लज्जास्पद प्रमाणहरु बाहिर आउँदा समेत संसदबाट महाभियोगको प्रक्रिया अघि बढाउनु त कता, यस विषयमा सार्वभौम संसदमा छलफलसमेत नहुनुबाट देशमा लोकमानसिंह कार्कीले चलाएको समानान्तर सत्ता कति संगठित र त्रासद छ भन्ने देखाउँछ।'

केसीले संसदमा विचाराधीन रहेको चिकित्सा शिक्षा ऐनमा समेत आपत्ति जनाएका छन्। ऐन आइतबार मात्र संसदले स्वीकृत गर्दै संशोधनका लागि सम्बन्धित समितिमा पठाएको थियो। केसीले भनेका छन्– 'हामीले चाहेको जस्तोतस्तो एक थान चिकित्सा शिक्षा ऐन नभई आम नागरिक र मेडिकल विद्यार्थीको हित हुने गरी र गुणस्तरमा अहिले कायम मनपरी अन्त हुने गरी त्यो ऐन आयो भने मात्र त्यसको अर्थ रहन्छ। त्यसको विपरीत विभिन्न निहित स्वार्थहरुका कारण यसलाई गलत रुपमा अघि बढाइयो वा हामीले माग गर्दै आएका सुधारहरु गरिएन भने त्यो हामीलाई स्वीकार्य हुनेछैन।'

केसीले आफूले राखेका माग पूरा गराउन दबाबस्वरुप आमरण अनसन सुरु गरेको उल्लेख गरेका छन्। 

डा. केसीले जारी गरेको विज्ञप्ति यस्तो छ-

आदरणीय पत्रकार साथीहरु,

स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्र सुधारका लागि हामीले लामो अभियान चलाउँदै आएका छौं। त्यस क्रममा यो क्षेत्रलगायत देशका विभिन्न क्षेत्रहरुमा भ्रष्टाचार र अराजकताको जडका रुपमा देशको महत्वपूर्ण संवैधानिक निकायका पदाधिकारी रहेको कुरा पुष्टि हुन आएको छ। यो कुरा स्थापित  गर्नमा सञ्चार माध्यमहरुले खेलेको भुमिका सराहनीय रहेको छ।
 
मूल धमिलो रहेसम्म कसै गरे पनि मेडिकल शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रहरुमा व्याप्त भ्रष्टाचार, अराजक तहमा पुगेको व्यापारीकरण, अनियमितता र अपराधीकरणको अन्त सम्भव नहुने देखिएकाले हामीले पछिल्लो समय स्वास्थ्य क्षेत्र सुधारका अन्य मागहरुसँगै अदुअआ प्रमुख लोकमानसिंह कार्की र उनका एक सहकर्मी राजनारायण पाठकमाथि महाभियोगको प्रक्रिया तुरुन्त शुरु गर्न माग पनि राख्दै आएका छौं।
 
हामीले पछिल्लो सत्याग्रह गरे यता निरन्तर यस विषयमा खबरदारी गरेर महाभियोगको प्रक्रिया अघि बढाउन संसदलाई झक्झक्याउँदै आएका छौं। यो पृष्ठभुमिमा लोकमानसिंह कार्कीविरुद्ध एकपछि अर्को लज्जास्पद प्रमाणहरु बाहिर आउँदा समेत संसदबाट महाभियोगको प्रक्रिया अघि बढाउनु त कता, यस विषयमा सार्वभौम संसदमा छलफलसमेत नहुनुबाट देशमा लोकमान सिंह कार्कीले चलाएको समानान्तर सत्ता कति संगठित र त्रासद छ भन्ने देखाउँछ। अर्कोतिर भूकम्प र नाकाबन्दीले असीम पीडा र संकटबाट गुज्रिरहेका नागरिकहरुप्रति राज्य संवेदनविहीन देखिएको छ।
 
यसबीच चिकित्सा शिक्षा ऐनको विधेयक संसदमा अघि बढाउनेलगायत हाम्रा अन्य मागहरुमा भएको प्रगतिको हामीले स्वागत गर्छौं। तर स्मरण रहोस्, हामीले चाहेको जस्तोतस्तो एक थान चिकित्सा शिक्षा ऐन नभई आम नागरिक र मेडिकल विद्यार्थीको हित हुने गरी र गुणस्तरमा अहिले कायम मनपरी अन्त हुने गरी त्यो ऐन आयो भने मात्र त्यसको अर्थ रहन्छ। त्यसको विपरीत विभिन्न निहित स्वार्थहरुका कारण यसलाई गलत रुपमा अघि बढाइयो वा हामीले माग गर्दै आएका सुधारहरु गरिएन भने त्यो हामीलाई स्वीकार्य हुने छैन।
 
यो परिस्थितिमा हाम्रा मागहरु थप दबाबविना पूरा नहुने देखिएकाले आज दिनको ४ बजेदेखि म आमरण अनसन बसेको घोषणा गर्दछु। सञ्चारकर्मी, बुद्धिजीवी र आम नागरिकहरुबाट यो सत्य र न्यायको लडाइँमा विगतमा झैं निरन्तर सहयोग, सद्भाव र सहभागिताको अपेक्षा गर्दछु, धन्यवाद।
 
  • सत्याग्रहका मागहरु
१) सरकार समक्ष हामीले पेश गरेका सुझावअनुरुप संशोधन गरी चिकित्सा शिक्षा ऐन संसदको यही अधिवेशनबाट तुरुन्त पारित गरियोस्।
२) अदुअआ प्रमुख आयुक्त लोकमान सिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल महाभियोगको प्रक्रिया अघि बढाइयोस्।
३) मेडिकल शिक्षाको शुल्क माथेमा कार्यदलले निर्धारित गरे बमोजिम तथा पछिल्लो सम्झौताबमोजिम कायम गर्दै पछिल्लो चोटि निजी मेडिकल कलेजका प्रतिनिधिहरुद्वारा बनाइएको कथित समितिको निर्णय खारेज गरियोस्।
४) अघिल्लो पल्ट भएको सम्झौताका बाँकी बुँदा तत्काल कार्यान्वयन गरियोस्
  • आइओएममा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्ति गरियोस्
  • चिकित्सा शिक्षा ऐनको मर्मविपरीत संसदमा विचाराधीन प्रक्रिया फिर्ता गरियोस्
  • आइओएमका भ्रष्ट पूर्व पदाधिकारीमाथि तत्काल छानविन र कारवाही अघि बढाइयोस् ।
-डा. गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल
२०७३/६/१०



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell