PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

​इपिएल टी २० क्रिकेट : पारस शतकबाट एक रनले चुके पनि वारियर्सको जित, लेजेण्ड्सको लगातार दोस्रो हार



पहिलोपोस्ट

​इपिएल टी २० क्रिकेट : पारस शतकबाट एक रनले चुके पनि वारियर्सको जित, लेजेण्ड्सको लगातार दोस्रो हार

काठमाडौं : कप्तान पारस खड्काले ९९ रनको कप्तानी पारी खेलेपछि विशाल वारियर्सले वाइवाइ एभरेस्ट प्रिमियर लिगमा इपीएल टी २० क्रिकेटमा पहिलो जित हात पारेको छ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा वारियर्सले सगरमाथा लेजेण्ड्सलाई २५ रनले पराजित गरेको हो। १७५ रनको उच्च लक्ष्य पछ्याएको लेजेण्ड्सले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो। ओपनर सुनिल धमलाले सर्वाधिक ८७ रन बनाए पनि लेजेण्ड्सलाई हार टार्न पर्याप्त भएन। ६० बल खेलेका धमलालो ६ चौका र ५ छक्का प्रहार गरे। 

यस्तै लेजेण्ड्सका लागि मेहवुव आलमले नटआउट २७ तथा अनिल मण्डलले १५ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। कप्तान विनोद भण्डारी ७, ओपनर सन्दिप सुनार ४ तथा शंकर राना २ रनमा आउट भए।

राहुलकुमार विक २ रनमा नटआउट रहे। बलिङतर्फ वारियर्सका सुशन भारीले २ तथा दिपेश खत्री र सागर पुनले १/१ विकेट लिए। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वारियर्सले कप्तान पारस खड्काको ९९ रनको मद्दतमा १७५ रन बनाएको थियो। ओपनरद्वय परेश लोहनी र सागर पुनलाई सस्तैमा गुमाए पनि पारसले तेस्रो विकेटका लागि सुरज कुर्मीसँग शतकीय साझेदारी गर्दै रन स्कोर उकासेका थिए। 

पारस र सुरजले तेस्रो विकेटका लागि १३१ रनको साझेदारी गरे। जारी इपिएलमा यो पहिलो शतकीय साझेदारी हो। ४५ बल खेलेका पारसले १० छक्का र २ चौका समेत प्रहार गरे। ४० बल खेलेका सुरज ३० रनमा नटआउट रहे।

मन्जित श्रेष्ठ र सागर पुनले समान १३ रन बनाए भने ओपनर परेश लोहनी ९ रनमा आउट भए। बलिङतर्फ लेजेण्ड्सका रुपेश श्रीवास्तवले २ तथा विक्रम सोब र मेहवुव आलमले १/१ विकेट लिए। 

९९ रन बनाएका पारस म्यान अफ दि म्याच चुनिए। कान्तिपुर गोर्खाज विरुद्धको उद्घाटन खेल वर्षाले रद्द भएपछि १-१ अंक बाँडेको वारिसर्यले पहिलो जितपछि ३ अंक जोडेको छ। 

यता लगातार दोस्रो हारपछि अंकविहीन सगरमाथा लेजेण्ड्स पुछारमा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell