PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

दिल्लीबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको विमान इमर्जेन्सी फोर्सल्याण्ड



उमेश पौडेल

दिल्लीबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको विमान इमर्जेन्सी फोर्सल्याण्ड

काठमाडौं : दिल्लीबाट काठमाडौं आइरहको नेपाल एयरलाइन्सको विमानमा समस्या आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा 'इमर्जेन्सी फोर्सल्यान्ड' गर्नुपरेको छ।
 
१२ हजार ५ सय फिट माथि हुँदा नेपाल एयरलाइन्सको आर ए २०६, ९ एन एकेएस लुम्बिनी कलसाइन एयरबसको ककपिटमा समस्या आएपछि इमरजेन्सी फोर्स ल्यान्डिङ गर्नुपरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए।
 
दिउँसो ३ बजेर २९ मिनेट जाँदा ककपिटमा धुवाँ आए जस्तो देखिएपछि पाइलटले विमानस्थलमा 'मे डे मे डे' भनेका थिए। मे डे भनेको इमर्जेन्सी अवस्था हो। प्लेनमा एक सय ६३ जना यात्रु सवार थिए।
 
त्यसपछि एयरपोर्टमा  'फुल इमर्जेन्सी' घोषणा गरेर ३ बजेर ४० मिनेटमा प्लेनलाई ल्यान्ड गरिएको ठाकुरले जानकारी दिए।
 
२७ मिनेटसम्म एयरपोर्टलाई बन्द गरी इमर्जेन्सी अवस्थामा राखेर सम्पूर्ण तयारी हालतमा राखिएको थियो। एम्बुलेन्स, दमकल, हवाई सुरक्षा लगायत अन्य सुरक्षाको बन्दोबस्त पूर्ण रुपमा तयार राखिएको उनले जानकारी दिए।
 
३ बजेर ५६ मिनेटसम्म एयरपोर्ट लक गरिएको थियो। सो समयमा कुनै पनि हवाई उडान र अवतरणको काम नभएको ठाकुरले बताए। अहिले एयरपोर्ट नियमित अवस्थामा चलेको छ।
 
हाल सो विमानलाई अनुसन्धानका लागि राखिएको र टेक्निकल टिमले यसको अनुसन्धान गरिरहेको उनले जानकारी दिए। 'जहाजमा के भएको रहेछ, त्यसको बारेमा विस्तृत अनुसन्धान भइरहेको छ,' उनले भने, 'यात्रु सकुशल छन्। कारण पत्ता लगाउने काम भइरहेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell