PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

सांगीतिक दुनियाँमा विनोद राईको यस्तो छ 'पारा'



पहिलोपोस्ट

सांगीतिक दुनियाँमा विनोद राईको यस्तो छ 'पारा'

काठमाडौं : नेपाली तारा सिजन—३ का उत्कृष्ट सातबाट बाहिरिएका गायक हुन्, विनोद राई। संगीतिक यात्राको क्रममा इलामको रविबाट झापा झरेर संघर्ष गर्दै धरानको अडिसनबाट छनोटमा परी उनले उत्कृष्ट सातसम्मको यात्रा तय गरे र सांगीतिक यात्रामा आफूलाई अनवरत यात्री बनाउने प्रण गरे। त्यसैको प्रतिफलस्वरुप उनले पहिलो एकल एल्बम ‘पारा’ भरखरै सार्वजनिक भएको छ।
 
चिन्डो म्युजिकले आयोजना गरेको समारोहमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव तथा प्रमुख अतिथि गणेश रसिक, गायक तथा संगीतकार उदय सोताङ, सञ्चारकर्मी तथा साहित्यकार डा. नवराज लम्साल, संगीतकार सङ्घ नेपालका अध्यक्ष लक्ष्मण शेष, साहित्यकार उषा शेरचन, गायकका बुवा हरिप्रसाद राई लगायतले संयुक्त रुपमा पाराको विमोचन गरे।
 
कार्यक्रममा प्रमुख अतिथि गणेश रसिकले गीत कविताको नजिक हुनुपर्ने बताए। ‘मलाई चाहिँ गीत कविताको नजिक हुनुपर्छ भन्ने लाग्छ। म आफ्नो गीतमा पनि कविता हाल्ने कोसिस गर्छु,’ रसिकले भने। उनले नेपाली गीत संगीतमा अहिले पैसाले गायक, गीतकार र संगीतकार बन्ने प्रवृत्ति बढेकोमा दुःख व्यक्त गरेका थिए।
 
सञ्चारकर्मी नवराज लम्सालले भने गीत गीतजस्तो र कविता कविताजस्तो हुनुपर्ने धारणा राखे। ‘विनोद राईको गीत छनौट हेर्दा उसले गीत नै छानेको छ। यसमा ऊ सफल छ,' उनले भने, 'एउटा गायकमा हुनुपर्ने यो महत्वपूर्ण गुण हो।’ लम्सालले चिन्ताभन्दा गीतमा चिन्तन बढी हुनुपर्ने बताएका थिए।
 
कार्यक्रममा लक्ष्मण शेष र उषा शेरचनले पनि गायक राईलाई शुभकामना दिएका थिए उनका बुवाले छोराको कार्यले आफू गौरवान्वित बनेको बताए।
 
कार्यक्रममा गायक राईले आफ्नो एल्बममा रहेको पारा, आँखाभरि र सेवारो गीत प्रत्यक्ष गायनमार्फत प्रस्तुत गरे। उनले आफू नेपाली संगीतमा अनवरत रुपमा अघि बढ्ने प्रतिबद्धता पनि जाहेर गरेका थिए।

एल्बममा पारा, आँखाभरि, सिरानीमा, सेवारो, आलै छ र गुराँस झैं गरी ६ गीत रहेका छन् भने प्रकाश आङदेम्बे, पुरुषोत्तम ढुङगेल, बासु थापा पुलामी, युगल लुम्फुवाँ र रोशन सुवेदीले शब्द दिएका छन्। पारस मुकारुङ, मनोजराज सिवाकोटी, अनिल फागो, देव गुरुङ, कमल रसाइली र बाबु बोगटीको संगीत रहेको छ। एल्बमलाई लाइन क्रमश मुभिजले प्रस्तुत गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell