काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनको हवाला दिएर सरकार एकलौटी ढङ्गले अघि बढ्न खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ।
बिजुली बजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको बैठकले संविधान संशोधनबारे सरकारले आफूसँग छफफल नै नगरी एकलौटी ढङ्गले अघि बढेको जनाएको छ।
संविधान संशोधनलगायत आफ्ना मागबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी निर्णायक छलफल गर्ने मोर्चाको एक घटक राष्ट्रिय समाजवादी पार्टी महासचिव केशव झाले जानकारी दिए। उनका अनुसार बैठकले सहमतिअनुसार आन्दोलनमा लगाइएको मुद्दा फिर्ताको कामप्रति प्रगति नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। स्थानीय निकायको पुनःसंरचनासम्बन्धी आइतबार तीन दलबीच भएको निर्णयप्रति विमति जनाउँदै मोर्चाले स्थानीय निकायको पुनःसंरचना स्थानीय प्रदेशका आधारमा हुनुपर्ने माग गरेको छ। रासस