चितवन : नारायणगढ–मुग्लिन सडकखण्डका ठेकेदार र सरकारी कर्मचारी दसैंको बेलामा काम रोकेर सवारीसाधन सहज रुपमा सञ्चालन गर्न चाहन्थे। केही समयअघि आयोजनाका इन्जिनियर शिव खनालले दसैंको बेलामा काम रोकेर सवारी सहज बनाइने बताउँदै कामदार पनि विदामा बस्ने भएकोले काम नहुने जानकारी दिएका थिए। सडक निर्माणसँगै सवारी सहज बनाउन कठिन हुने बताएका थिए।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले भने यही बेला चाडपर्व नजिकिएकाले यात्रुलाई सहज हुने गरी आवागमन सञ्चालन गर्न निर्देशन दिएका छन्।
बाटो चौडा गर्ने क्रममा घन्टौंसम्म जाममा बस्न बाध्य भएको जनगुनासो बढिरहेका बेला मन्त्री लेखकले चाडपर्वभरि आवागमनमा बाधा नपुग्ने गरी काम गर्न निर्देशन दिए। उनले दोहोरो सवारी आवागमन नरोकी अन्य काम गर्नुपर्ने बताए। ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरे कारबाही गरिने बताउँदै उनले आयोजनामा खटिएका कर्मचारीलाई जिम्मेवार बनेर तोकिएको समयमा काम सम्पन्न गर्न उनले भनेका छन्।
प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको रोहबरमा सडक निर्माणस्थलमै आयोजनाका प्रमुख र इन्जिनियरलाई समेत राखेर मन्त्री लेखकले काममा ढिलासुस्ती गरे कारबाही गरिने चेतावनी दिएका हुन्। कामको गुणस्तर अनुगमन गर्न पनि उनले निर्देशन दिए। 'कमजोर काम गरेर कसैले ठग्न नपाओस्, कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्छ,' मन्त्री लेखकले भने।
आयोजनाले आजदेखि नै चाडपर्वभरि बाटो नरोकी काम गर्ने जनाएको छ। हालसम्म ठाउँठाउँमा समय समयमा सडक रोकेर चौडा गर्नुपर्दा यातायात अवरुद्ध भई सडक पार गर्न यात्रुलाई घन्टौं लाग्ने गरेको छ। आयोजनाले सडकमा भएका खाल्डाखुल्डी पुर्ने र सम्याउने काम गर्न लगाएको छ जसका कारण सवारी गति बढ्न थालेको छ।
आयोजनाका इन्जिनियर शिव खनालका अनुसार दसैंमा सो सडक हुँदै यात्रा गर्नै यात्रु सवारी जाममा नपरुन् भन्नाका लागि उच्च सतर्कता
अपनाइएको छ। कहीँकतै पहिरो खसे तत्काल पन्छाउने व्यवस्था गरिने तथा सडकमा खाल्डाखुल्डी सम्याउने र धुलो कम गर्न पानी छर्कने काम समेत हुने उनले बताए।
ठेक्का दिँदा २०७४ बैसाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेपछि चार महिना १५ दिन थप गरी २०७४ भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ। २०७२ बैसाखदेखि सडक चौडा पार्ने काम थालिएको हो।
भरतपुरको आँपटारीदेखि मुग्लिनसम्म सडक फराकिलो बनाउने काम भइरहेको छ। सडकको १६ किलोदेखि मुग्लिनसम्म ९ मिटर र १६ किलोदेखि आँपटारीसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ। विश्वबैंकको २ अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो। ‘एसियाली राजमार्ग’अन्तर्गतको ‘ए एच ४ टु’ खण्डअन्तर्गत नारायणगढ–मुग्लिन सडक खण्ड पर्छ। इन्जिनियर खनालका अनुसार चीन हुँदै नेपालका कोदारी, काठमाडौं, नागढुङ्गा नौबिसे, मुग्लिन, नारायणगढ, हेटौंडा र वीरगन्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियाली राजमार्गको एक खण्ड हो।
आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ। राजधानीबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य सडक भएकाले यो सडक व्यस्त रह । सो सडक हुँदै दैनिक आठ/नौ हजार सवारीसाधन आवातजावत गर्छन्।राससको सहयोगमा