PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

पूर्वगृहमन्त्रीको अवस्था अज्ञात, गृहमन्त्री भन्छन्- 'विदेशबाट विशेष यन्त्र झिकाएर खोजी गर्छौं'



पहिलोपोस्ट

पूर्वगृहमन्त्रीको अवस्था अज्ञात, गृहमन्त्री भन्छन्- 'विदेशबाट विशेष यन्त्र झिकाएर खोजी गर्छौं'

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले त्रिशूलीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीकार्यका लागि विदेशबाट विशेष यन्त्र मगाइने बताएका छन्। 

बेपत्ता घिमिरेको खोजीका लागि सरकारले कुनै कसर बाँकी नराख्ने पनि उनले बताए। गृहमन्त्री निधिले सुरक्षा निकायलाई अहोरात्र खोजीकार्य तीव्र बनाउन निर्देशन दिए।

तीन दिनदेखि त्रिशूलीमा बेपत्ता पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजी तथा उद्धारबारे जानकारी लिन घटनास्थल पुगेका निधिले यस्तो निर्देशन दिएका हुन्। उनीसँगै प्रहरी महानिरीक्षक उपेनद्रकान्त अर्याल, सशस्त्र प्रहरीका आइजिपी दुर्जकुमार राई र राष्ट्रिय अनुसन्धान विभागमा प्रमुख दिलीप रेग्मी अहिले घटनास्थलमा छन्।
 
बेपत्ता घिमिरेसहित उनका भाइहरुको आज पनि बिहानैदेखि खोजीकार्य तीव्र बनाइएको छ। गएराति अबेरसम्म खोजी गर्दा पनि नभेटिएपछि आज बिहानैदेखि पुन: खोजी सुरु गरिएको चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए।
 

आज पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले गोताखोर तथा डुंगाको प्रयोग गरेर खोजीकार्य जारी राखेका छन्। विपत व्यवस्थापन गण, रसौली, चितवनबाट नेपाली सेनाको टोली, विपत व्यवस्थापन तालिम केन्द्र, कुरिनटारबाट सशस्त्रको टोली र जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय मुग्लिनबाट नेपाल प्रहरीको टोली परिचालन गरिएको छ।
 
तीन वटा डुङ्गा र एउटा र्‍याफ्टिङ प्रयोग गरी नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी खोजी कार्यमा अहिले पनि जुटिरहेका छन्। दुई दिनदेखि करिब दुई सय जना सुरक्षाकर्मीले खोजी गरिरहेको भए पनि अझै घिमिरे र अन्य दुई जनाको अवस्था अज्ञात नै रहेको छ।

त्रिशूली नदीमा पानीको बहाव बढेकोले पनि खोजी कार्यमा अप्ठेरो भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले पहिलोपोस्टलाई जानकारी दिए।
 
मुक्तिनाथबाट मुग्लिन हुँदै काठमाडौं आउँदै गर्दा आइतबार साँझ घिमिरे चढेको बा ९ च १५३१ नम्बरको स्कारपियो गाडी पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक-३ घोप्टेभिरमा दुर्घटना भई त्रिशूली नदीमा खसेको थियो। दुर्घटना भएको केही घन्टामा नै प्रहरीले पूर्वगृहमन्त्री घिमेरकी ८० वर्षीया आमा चैत्यकुमारी र अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव फेला पारेको थियो। गाडी चालक विष्णु राईको भने भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

हिजो यातायात मन्त्री रमेश लेखकले पनि घटनास्थलको निरिक्षण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell