PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

तीनबुँदे सहमतिबारे मोर्चाका पार्टी अध्यक्षहरुले आज प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने



रमेश वाग्ले

तीनबुँदे सहमतिबारे मोर्चाका पार्टी अध्यक्षहरुले आज प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तीनबुँदे सहमति र सरकारले लिइरहेको निर्णयका विषयमा सरकारको ध्यानाकर्षण गराउने भएको छ।
 
आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर विगतमा भएको तीनबुँदे सहमतिको तेस्रो बुँदाको कार्यान्वयन र प्रमुख तीन दलबीचको 'इलाकालाई नै आधार मानेर स्थानीय तह स्थापना गरी गाउँपालिकाको गठन गर्ने' विषयमा सरकारको आधिकारिक धारणा माग्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागेको मोर्चाले जनाएको छ।
 
‘सरकारले तीनबुँदे सहमति त गर्‍यो तर अहिलेसम्म त्यसको कार्यान्वयन गरेको छैन,’ मधेसी जनअधिकार फोरम गणतान्त्रिका अध्यक्ष राजकिशोर यादवले भने, ‘त्यसैले हामीले सरकार के गर्दैछ, त्यसको कार्यान्वयनका लागि तयार छ वा छैन भनेर बुझ्न प्रधामन्त्रीसँग भेट्न लागेका हौं।’ उनले प्रधानमन्त्री संविधान संशोधनका लागि आफैं तयार भएजस्तो देखिए पनि त्यसअनुरुप काम अघि बढाउन नसकेको बताए।
 
सरकारले गर्नुपर्ने काम नगरेर नगर्ने कामलाई प्राथमिकतामा राखेको उनको आरोप छ। ‘पहिला मोर्चासँग भएको सहमतिअनुसार संविधान संशोधन गर्नुपर्‍यो, त्यसपछि बाँकी विषय त्यही संशोधित संविधानअनुसार गर्दै जानु उपयुक्त हुन्छ,' उनले भने।
 
सद्भावनाका नेता लक्ष्मणलाल कर्ण भने प्रधानमन्त्रीसहित संलग्न भएर पुरानो इलाकालाई नै आधार मानेर गाउँपालिका गठन गर्ने विषयमा आफूहरुको विमति रहेको बताउँछन्। स्थानीय निकाय भनेको प्रदेश अन्तरर्गत रहने भन्दै उनले सरकारले केन्द्रसँग सिधै पहुँच हुनेगरी स्थानीय तह बनाउने कुरामा समेत मोर्चाको विमति रहेको बताए। ‘हिजोकै संरचना कायम राख्ने हो भने राज्य पुनर्संरचना किन चाहियो? आयोग गठन गर्नुको के मतलब?’ कर्णले भने, ‘राज्य पुनर्संरचनामा जाने नै भएपछि राज्य पुनर्संरचना त हुनुपर्‍यो नि। जनताले सेवासुविधा सहज रुपमा पाउने अवस्था निर्माण हुनुपर्‍यो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell