
काठमाडौं : वाइवाइ इपीएल टी २० क्रिकेटमा शक्ति गौचनको जगदम्बा राइनोजले पहिलो जित हात पारेको छ। मंगलबार भएको लो स्कोरिङ खेलमा राइनोजले कान्तिपुर गोर्खाजलाई ११ रनले हराउँदै पहिलो जित दर्ता गराएको हो।
१२५ जनाको लक्ष्य पछ्याएको गोर्खाजले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो।
गोर्खाजका लागि सन्दिप जोहरा र अनिल शाहले बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। शानदार ब्याटिङ गरेका सन्दिपले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाए पनि त्यो जितको लागि पर्याप्त हुन सकेन। २८ बल खेलेका उनले समान २ चौका र छक्का प्रहार गरे। यस्तै अनिल शाहले २८ रन जोडे।
१२४ रनको टार्गेट डिफेण्ड गर्ने क्रममा राइनोजका कप्तान शक्ति गौचन, पवन सराफ र प्रेम तामाङले समान २ विकेट लिए भने सोमपाल कामी र शाह आलमले १/१ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको राइनोजले सोमपाल कामीको ४४ रनको योगदानमा निर्धारित २० ओभरमा १२४ रन बनाएको थियो। ३० बल खेलेका सोमपालले ४ छक्काको मद्दतमा राइनोजका लागि सर्वाधिक ४४ रन बनाएका हुन्। यस्तै ओपनर सुबेन्द्र पाण्डेले २१, हासिम अन्सारीले १८ तथा अमित श्रेष्ठले १६ रन जोडे।
बलिङतर्फ गोर्खाजका कप्तान बसन्त रेग्मीले ३ विकेट लिए भने ललितनाथ राजवंशीले २ तथा ललितसिंह भण्डारीले १ विकेट लिए।
जितपछि राइनोजले २ खेलबाट २ अंक जोडेको छ। पहिलो खेलमा राइनोज तेजसँग हारेको थियो।
जारी इपीएलमा तेस्रो खेल खेलेको गोर्खाजको भने यो पहिलो हार हो। उद्घाटन खेलमा विशाल वारियर्ससँग अंक बाँडेको गोर्खाजले दोस्रो खेलमा सगरमाथा लेजेण्ड्सलाई पराजित गरेको थियो। गोर्खाजले अब पञ्चकन्या तेज र कलर्स एक्स फ्याक्टरसँग खेल्न बाँकी छ। ३ खेलबाट गोर्खाजको ३ अंक नै रहेको छ।