PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

मन्त्रिपरिषदका पूर्वअध्यक्ष रेग्मीले सोधे- '४० घन्टासम्म पनि माधव घिमिरे किन पत्ता लागेनन्?'



पहिलोपोस्ट

मन्त्रिपरिषदका पूर्वअध्यक्ष रेग्मीले सोधे- '४० घन्टासम्म पनि माधव घिमिरे किन पत्ता लागेनन्?'

काठमाडौं : संविधानसभाको चुनाव गराउन प्रधानन्यायाधीशबाट मन्त्रिपरिषद् अध्यक्ष बनेका खिलराज रेग्मीले उनकै सरकारमा गृहमन्त्री रहेका माधवप्रसाद घिमिरेको खोजीका विषयमा चसो राखेका छन्।
 
रेग्मीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग फोन सम्पर्क गरी दुर्घटनाको ४० घन्टासम्म पनि घिमिरेको अवस्था थाहा नभएको भन्दै चिन्ता प्रकट गरेका हुन्।
 
उनले घिमिरेको खोजीका लागि अत्याधुनिक उपकरणको प्रयोग गर्न माग गर्दै आवश्यक परे छिमेकी राष्ट्रको सहयोग लिन पनि आग्रह गरेका छन्। घिमिरेको खोजी गाडी खसेको क्षेत्रमा मात्र नभएर भारतीय सीमा नजिकको गण्डक बाँधसम्म पुर्‍याउन पनि उनले प्रधानमन्त्रीसँग आग्रह गरे।
 
'घिमिरेसहित भाइहरुको खोजीका लागि अत्याधुनिक उपकरण प्रयोग गर्न र खोजीकार्य गण्डक नहरको भारतीय सीमासम्म पुर्‍याउन विशेष आग्रह गर्नुभएको छ,' रेग्मीको निजी सचिवालयबाट प्रेषित समाचारमा भनिएको छ, 'घिमिरे र पारिवारिक सदस्यहरुको खोजी र उद्धार कार्यमा सरकारका सबै संयन्त्र र उपायको अवलम्बन गर्दै आवश्यक परेमा मित्रराष्ट्रहरुबाट समेत प्राविधिक सहयोग लिएर कार्य गर्न सरकारसँग गरिन्छ।'

 
मुक्तिनाथबाट मुग्लिन हुँदै काठमाडौं आउँदै गर्दा आइतबार साँझ घिमिरे चढेको बा ९ च १५३१ नम्बरको स्कारपियो गाडी पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक-३ घोप्टेभिरमा दुर्घटना भई त्रिशूली नदीमा खसेको थियो। दुर्घटना भएको केही घन्टामा नै प्रहरीले घिमिरेकी ८० वर्षीया आमा चैत्यकुमारी र अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव फेला पारेको थियो। गाडी चालक विष्णु राईको भने भरतपुर अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell