PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

सरकारको आलोचना गर्दै किन रिसाए प्रधानमन्त्री प्रचण्डसँग ओली?



मनोज सत्याल

सरकारको आलोचना गर्दै किन रिसाए प्रधानमन्त्री प्रचण्डसँग ओली?

काठमाडौं : सरकारबाट बाहिरिएपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा संसदलाई पहिलोपटक सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको आलोचना गरेका छन्।
 
संसदको रोष्टमबाट ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा जारी भएको संयुक्त वक्तव्यको आलोचना मात्र गरेनन् प्रचण्डसँग रिस समेत पोखे। आफ्नो र दलको भारत र भारतीय मिडियामा नकारात्मक टिप्पणी प्रचण्डबाट भएको भन्दै ‌ओलीले कटाक्ष गरे।
 
उनले भारतीय मिडियामा प्रचण्डले दिएको अन्तरवार्ताको विषय दुई पटक उठाए। ओलीले प्रसङ्ग उठाइरहँदा प्रधानमन्त्री प्रचण्ड भने रातो भएका थिए।
 
‘फलानो त भारत विरोधी भन्छन् नि’ भनेर सोधिएको प्रश्नमा प्रधानमन्त्रीले आफ्नो नामै लिएर टिप्पणी गरेको प्रति ओलीको असन्तुष्टि थियो।
 
‘फलानो मात्र होइन नि, त्योभन्दा अगाडिदेखिकै छन्। फलाना त हुँदै हो भनियो। यस सम्बन्धमा मैले फेरिदेखिलाई घाम लागोस् भनेर मात्र ध्यानाकर्षण गर्न खोजेको’, प्रतिपक्षी दलका नेता ओलीले भने, 'विदेशमा सञ्चारमाध्यमहरुसँग वा कूटनीतिज्ञहरुसँग त्यसरी कुराकानी गरिँदैन। पक्ष-प्रतिपक्ष हुन्छन्, यो हाम्रो संसदको कुरा हो। बाहिरसँगको डिलिङमा हामी अनावश्यक कुरा त्यसरी भन्दैनौँ।‘
 
ओलीले प्रचण्डलाई आफ्नो भ्रमणबाट के सम्बन्ध सप्रियो भन्दै पटकपटक प्रश्न तेर्स्याए। साथै उनले आफूले अहिलेसम्म किन प्रधानमन्त्री भारत भ्रमण जानुको कारण बुझ्न नसकेको टिप्पणी गरे।
 
‘भारतमा प्रतिपक्षीको धज्जी उडाइयो। अरु पनि प्रधानमन्त्री जान्छन् तर आफ्नो देशको प्रतिपक्षीको धज्जी विदेशमा गएर उडाइँदैन। उडाइयो,' ओलीले दोहोर्‍याएर विषय उठाउँदै भने, ‘पत्रकारले प्रश्न गर्‍यो ड्याङ का ड्याङ। आफ्नो मर्यादा आफूले सोच्नुपर्ने कुरा हो।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell