
काठमाडौँ : संसदको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र (राम) कार्कीविरुद्ध खनिए। कार्कीले नेपाल–चीन सम्बन्ध: नयाँ सन्धिको सन्दर्भ’ विषयक गोष्ठीमा राखेको धारणाको ओलीले आलोचना गरेका हुन्।
कान्तिपुरको समाचार अनुसार गत असोज ४ गते कार्कीले चीनपट्टिको सडक विस्तारको नाममा पर्यावरण बिगार्न नहुने बताएका थिए। ‘कहिले हिमाल छेडेर रेल ल्याउने त कहिले हिमालको माथिमाथि सडक सञ्जाल विस्तार गर्ने विषय उठेको छ। पर्यावरण बिगारेर सञ्जाल विस्तारका लागि ओखलढुंगाका डाँडामा एक्सकाभेटर कुदिरहेका छन्। यो राम्रो होइन,' कार्कीले भनेका थिए।
तर कार्कीले माइक्रो ब्लगिङ साइट ट्वीटरमा आफ्नो भनाइको गलत अर्थ लगाइएको बताएका थिए। उनले ट्वीटरमा लेखेका छन्-
नेपाल अध्ययन केन्द्र्को कार्यक्रममा उपस्थित ख़ास एकजना मन्दबुध्दि पक्का होईनन बेईमान थिएछन ले मेरो भनाईलाई अनर्थ्याई दिए
— ram karki partha (@ram_partha) September 22, 2016
के भने ओलीले?
संसदको बैठकमा ओलीले रोष्टमबाट सरकारका प्रवक्ता कार्कीको कारण सरकारको धारण हो भन्दै प्रश्न तेर्स्याए।ओलीले भने, 'विचित्र छ, नेपालमा वर्तमान मन्त्रीज्युहरु विशेष दक्षता राख्नुहुन्छ विशेषज्ञता राख्नुहुन्छ थाहै छ। एउटा मन्त्रीले अर्को विषयको विशाल दक्षता राख्नुहुन्छ। एक जना मन्त्रीले भन्नुभयो– उत्तरतिर बाटो खोल्ने हो भने त इन्भारोमेन्टल डिजास्टर हुन्छ। वातावरणसम्बन्धी कत्रो विशेषज्ञता कत्रो नलेज? सञ्चार मन्त्री हुनुहुन्छ वातावरण सम्बन्धी विशेष नलेज। सरकारमा बसेर सरकारका प्रवक्ताका अभिव्यक्तिहरु जिम्मेवार अभिव्यक्ति हुनुपर्छ कि पर्दैन। कि यो सरकारकै अभिव्यक्ति हो?'
उनले थपे, 'उहाँ सरकारको प्रवक्ता हो कि हैन? सरकारका प्रवक्ताले बोल्नुभएको हो कि हैन? परराष्ट्र सम्बन्धका बारेमा बोल्नुभएको हो कि हैन? यी सम्बन्ध सुधार भनेको के? नेपालीमा एउटा कथा छ– काटे मुसीका कान बचाएँ ससुरालीका धान। के बचाउन खोजेको? यस्ताहरु प्रति म गम्भीर आपत्ति जनाउन चाहन्छु। सरकारको नीति नै यही हो कि? प्रवक्तामार्फत आएको सरकारको नीति हो कि। सरकारको अध्ययनको निष्कर्ष निचोड हो कि? वातावरणीय प्रतिवेदन हामी पनि पाऊँ न, ज्ञानको छेउछाउ हामीले पनि पाउँदा हुन्छ नि।
अब यसप्रति म विरोधका साथ गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु।'