PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

ओलीले दिए प्रचण्डसँगको दोहोरीलाई निरन्तरता



मनोज सत्याल

ओलीले दिए प्रचण्डसँगको दोहोरीलाई निरन्तरता

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँगको दोहोरी शृंखलालाई निरन्तरता दिएका छन्। प्रधानमन्त्री पद छाडेपछि पहिलोपटक प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा संसदको रोष्टम प्रयोग गरेका ओलीले प्रचण्डमाथि निसाना साँध्न छाडेनन्। ‌ओलीले प्रचण्डसँगको आफ्नो दोहोरीलाई निरन्तरता दिए।

संसदमा अविश्वासको प्रस्ताव राख्दै गर्दा प्रचण्डले ओलीमाथि माओवादीलाई भर्‍याङ बनाएर उपयोग गरेको लगायत १० आरोप लगाएका थिए। तर अविश्वासको प्रस्तावमा जवाफ दिँदै ओलीले आफूलाई महाभारतको अर्जुनपुत्र अभिमन्युलाई जस्तै चक्रव्युहमा पारिएको जवाफ फर्काएका थिए। ओलीले अविश्वासको प्रस्ताव ल्याउनुमा प्रचण्डको कमलो मन दुखेको उल्लेख गर्दै पटकपटक आफूले सिलाउन कोसिस गरेको जवाफ फर्काएका थिए।

ओलीले प्रधानमन्त्रीको हैसियतमा अन्तिम पटक संसद प्रयोग गर्दा प्रचण्डलाई आफ्नो पालामा सुरु गरिएका रेलको प्रोजेक्ट लगायतका विषयमा के हुन्छ? भन्दै सोधेका थिए।

प्रधानमन्त्रीको निर्वाचन हुने दिन प्रचण्डले 'आउट गोइङ पिएम ओली'लाई प्रश्न तेर्स्याएका थिए-  कुन स्रोतबाट पैसा उठाएर बनाउने हो, प्रधानमन्त्री जी! जनताको हितमा भएका योजनामा कुनै राजनीति हुँदैन। स्रोत देखाउनुहोस्, प्रधानमन्त्री जी म त्यसरी नै बनाउँछु।
 
प्रधानमन्त्री चयन भएपछि संसदबाट पहिलोपटक राष्ट्रको नाममा सम्बोधन गर्दै प्रचण्डले विभिन्न कार्यक्रममा बजेट व्यवस्था गर्ने बताएका थिए। भूकम्पपीडितलाई ३ लाख अनुदान दिनेदेखि कैयौं आयोजनामा बजेट बढाइने घोषणा गरेका थिए। प्रचण्डको एक घण्टा लामो सम्बोधनमा १ सय १२ स्थानमा ‘गरिनेछ’ शब्द प्रयोग भएको थियो।

त्यही प्रसङ्ग सम्झँदै ओलीले मंगलबार संसदमा प्रचण्डमाथि शब्दवाण प्रहार गर्न चुकेनन्। साथै ओलीले प्रचण्डलाई भूकम्पपीडितलाई घर निर्माणका लागि अनुदान वितरणले तीव्रता पाएको भन्ने उद्घोषमा व्यङ्ग समेत कसे।

के भने ओलीले?

'हुन त प्रधानमन्त्रीज्युले मेरो सम्बन्धमा निकै नै कुरा गर्नुभयो। बजेट नभएका कुराहरु कहाँबाट बजेट ल्याएर गर्ने, यस्तो जसो पायो त्यसो कुरा गर्ने भन्नुभयो। र, १ सय १२ वटा गरिनेछ थप्नुभयो बिना बजेट। मलाई आलोचना गर्दै भन्नुभयो- प्रधानमन्त्रीजीले नहुने नहुने कुरा गर्ने। पानीबाट-हावाबाट बिजुली निकाल्ने कुरा गर्ने? यस्ता नचाहिने कुरा गर्ने भन्दै जानुभयो। र, भन्नुभयो ७ अर्ब ३० करोड दुनियाँको जनसंख्या मध्ये ३ अर्बजति नेपालमा ल्याउँछु भन्दिनुभयो। पर्यटक। हुने कुरा होला खुसी नै लाग्यो। छिटोछिटो होटलहरु बनाउने कुरा होला बनाउनुपर्‍यो। बस्ने ठाउँ छैन। ३ करोड नेपाली छौँ मान्छे ह्वारह्वार्ती आए भने त?


म प्रधानमन्त्रीजीलाई प्रचारात्मक होइन व्यवहारात्मक ढंगले अगाडि बढ्न आग्रह गर्न चाहान्छु। किनभने, जनताले हेरिरहेको छ, मुल्याङ्कन गरिरहेको छ। सबै ठिक्क पारेर पानीको मुहान पनि बनाइयो। ट्याङ्की पनि बनाइयो। धारा पनि ठिक्क पारेर पारियो। प्रधानमन्त्रीजीले टुटी खोल्नुभयो र भन्नुभयो– देख्नुभयो मैले आएको भोलिपल्ट पानी ल्याइदिएँ।

४० हजारबाट ४ लाख अनुदान वितरण गरेको टुटी खोल्नुभएको होइन र? बैंकिङ संस्था पुर्‍याइएको थियो। दिने कसलाई तय गरिएको थियो। तथ्याङ्क संकलन गरिएको थियो। दिने रकम फिल्डमा पठाइसकेपछि सरकार त्यति बेलै परिवर्तन भयो। र, पैसा वितरण हुने काम धमाधम सुरु भएको थियो। वितरण भयो।

ट्याङ्क धारा खोलेर भन्नुभयो– गर्ने मान्छे यस्तो हुन्छ। आउने बित्तिकै (धारा खोलेर देखाउँदै)। मुहान कसले बनायो? ट्याङ्की कसले बनायो? पाइप कसले बिछ्यायो? धारा कसले बिछ्यायो मतलब छैन। गर्ने मान्छेले यी यसरी गर्छ (धारा खोलेर देखाउँदै) यी तरररर पानी!

केही समयपछि तुइन पनि विस्तार (विस्थापन) हुन्छन्। टेण्डर लागिसकेको छ। प्रधानमन्त्रीज्युले यस्तो गर्नुहुन्छ (आफ्नै ढाडमा आफैँ धाप मारेर देखाउँदै) बा, बा, बा।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell