
काठमाडौं : विनोद भण्डारीको कप्तानीमा रहेको सगरमाथा लेजेण्ड्सले वाइवाइ इपीएल टी २० क्रिकेटमा लगातार तेस्रो हार बेहोरेको छ। प्रतियोगिता अन्तर्गत मंगलबार भएको दिनको दोस्रो खेलमा लेजेण्ड्स कलर्स एक्स फ्याक्टरसँग ९ रनले पराजित भएको हो। लेजेण्ड्स यसअघि भएका खेलमा कान्तिपुर गोर्खाज र विशाल वारिसर्यसँग पराजित भएको थियो।
१६९ रनको लक्ष्य पछ्याएको लेजेण्ड्सले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा जितका लागि १५ रन आवश्यक रहेको बेला लेजेण्ड्सले ५ रन मात्र बनाउन सक्यो।
लेजेण्ड्का लागि विनोद भण्डारीले सर्वाधिक ४८ रन बनाएपनि जितका लागि पयाप्त भएन। १९ औं ओभरको अन्तिम बलमा विनोद रनआउट हुनु नै लेजेण्ड्सको लागि दुर्भाग्य सावित बन्यो।
१८ औं ओभरमा विनोद र विक्रम सोबको जोडीले २१ रन प्रहार गर्दै टीमलाई जिततर्फ अग्रसर गराएका थिए। तर १९ औं ओभरको चौथो बलमा विक्रम आउट भए भने विनोद पनि रनआउट हुन पुगे। विक्रमले ७ बल खेल्दै ११ रन बनाए।
यस बाहेक ओपनर सुनिल धमलाले ४६ रन बनाए भने मेहवुव आलमले २३ तथा अनिल मण्डलले १४ रन जोडे। बलिङमा एक्स फ्याक्टरका अभिनाश कर्णले २ विकेट लिए भने अमर रतौला र योगेन्द्र सिंह कार्कीले १/१ विकेट लिए।
यता ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको एक्स फ्याक्टरको यो पहिलो जित हो। पहिलो खेलमा पञ्चकन्या तेजसँग हारेका एक्स फ्याक्टरलाई पहिलो जित दिलाउन कप्तान ज्ञानेन्द्र र राजेश पुलामी मगरको अर्धशतक महत्वपूर्ण रह्यो।
ज्ञानेन्द्रले र राजेशले तेस्रो विकेटका लागि ९१ रनको महत्वपूर्ण साझेदारी गरे। ३८ बल खेलेका राजेशले ५६ तथा ३७ बल खेलेका ज्ञानेन्द्रले ५२ रन बनाए। दुवै खेलाडीले समान ४ चौका र २ छक्का प्रहार गरे। ओपनर फैजलुरले २१ तथा हरिशंकर शाहले १३ रन जोडे।
इनिङको अन्त्यतिर आक्रमण ब्याटिङ गदै योगेन्द्र सिंह कार्कीले ४ बलमा ११ रन जोडे। बलिङतर्फ लेजेण्ड्सका विक्रम सोब । मेहवुुव आलमले २ २ विकेट लिए। रुपेश श्रीवास्तव र राहुल कुमार विकले १/१ विकेट हात पारे।
लगातार तेस्रो हारसँगै लेजेण्ड्सको फाइनल पुग्ने सम्भावना लगभग समाप्त भएको छ। ३ खेलबाट अंकविहिन रहेको लेजेण्ड्सले जगदम्बा राइनोज र पञ्चकन्या तेजसँग खेल्न बाँकी छ।
मंगलबारै भएको पहिलो खेलमा राइनोजले गोर्खाजलाई पराजित गर्दै अंकको खाता खोलेको छ। अहिलेसम्म २ खेलमा शतप्रतिशत जित निकालेको तेज ४ अंक सहित शीर्ष स्थानमा छ।