PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

दसैंअघि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक



रमेश वाग्ले

दसैंअघि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक

काठमाडौं : दसैंअघि नै संविधन संशोधन प्रस्ताव दर्ता गर्ने विषयमा प्रधानमन्त्री र मोर्चाका शीर्ष नेताहरु सकारात्मक देखिएका छन्।
 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तीनबुँदे सहमति र सरकारले लिइरहेको निर्णयका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा सकारात्मक संकेत देखापरेको हो।
 
मोर्चाले भने अहिले मुख्य तीन विषयमा विमति प्रकट गरेको छ। संविधान संशोधन प्रस्ताव दर्तामा भइरहेको ढिलाइ, सहिद घोषणा र क्षतिपूर्तिमा भइरहेको ढिलाइ र इलाकालाई नै आधार मानेर स्थानीय तह स्थापना गरी गाउँपालिकाको गठन गर्ने विषयमा मोर्चाले आपत्ति जनाएको हो। जनसंख्याका आधारमा हुनै नसक्ने विषयमा प्रमखु दलहरुसँग किन सहमति गरियो भनी मोर्चाका नेताले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न गरेका थिए।
 
प्रधानमन्त्रीले जवाफमा संविधान संशोधन प्रस्तावका लागि एमालेसँग पनि सल्लाह गर्नुपर्ने भएकाले केही ढिलाइ भएको प्रस्ट पारे। 'यस विषयमा अध्ययन भइरहेकै छ। मधेस आन्दोलनमा घाइते सबैलाई क्षतिपूर्त दिने पनि हो,' उनले भने, 'तर गलत मान्छे नपरुन् भनेर अहिले हामी छानबिनकै क्रममा छौं।' उनले इलाकालाई आधार मान्न भनिएको हो, कायम गर्ने भनिएको होइन भन्दै प्रस्ट्याएका थिए।
 
बैठकमा सहभागी संघीय समाजवादी फोरमका संसदीय दलक उपनेता लालबहादुर राउतले प्रधानमन्त्रीले सकारात्मक कुरा राखेको बताए।
 
आफूहरु पनि सकारात्मक रुपमा प्रस्तुत हुँदै आएको बताउँदै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, 'तर सरकारले किन ढिला गरिरहेको छ, हामीले  बुझ्न सकेका छैनौं। कार्यान्वय भएपछि मात्रै विश्वास गर्न सकिन्छ।'
 
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनाल बलदेवले संविधान संशोधन प्रस्ताव एमालेसँगको छलफलपछि गर्दा मात्रै विवाद नआउने बताए। 'दसैंअघि नै संशोधन प्रस्ताव अघि बढाउने गरी स्पिरिटका साथ आज छलफल भएको छ,' उनले भने।
 
उपप्रधानमन्त्री तथ गृहमन्त्री विमलेन्द्र निधिले पनि आजको छलफल सकारात्मक देखिएकाले अब अर्को वार्ताले निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे।
 
प्रधानमन्त्री संविधान संविधान संशोधनका लागि आफैं तयार भएजस्तो देखिए पनि त्यसअनुरुप काम अघि बढाउन नसकेको भन्दै मोर्चाका नेताहरुले आलोचना गर्दै आएका छन्। फोटो : रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell