
अमेरिकामा आगामी नोभेम्बर ८ मा हुने राष्ट्रपति चुनावका लागि दुई उम्मेदवार डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच सोमबार पहिलो प्रत्यक्ष टेलिभिजन बहस भएको छ।
सो बहसमा धेरै मतदाताले डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मन पराएको विभिन्न सर्वेक्षणहरुले देखाएका छन्।
विषयवस्तुदेखि प्रस्तुतिसम्मका विभिन्न पक्षलाई हेर्दा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा डेमोक्र्याटिक पार्टीका क्लिनटन राम्रो भएको प्रारम्भिक सर्वेक्षणहरुमा देखाइएको छ।
क्लिनटन १० देखि १५ प्रतिशतसम्म अगाडि रहेको देखिएको हो। बहसका क्रममा क्लिन्टनलाई धेरै पटक ट्रम्पले बोल्नै नदिएर अवरोध पुर्याएका थिए। त्यो अवरोध नै धेरैले नरुचाएको मत सर्वेक्षणमा बताइएको छ।
अमेरिकामा जनमत आफूतिर पार्न राष्ट्रपतीय निर्वाचनका उम्मेदवारहरुको प्रत्यक्ष टेलिभिजन बहसहरुलाई निकै महत्वपूर्ण र निर्णायक मानिन्छ। करिब ९० मिनेट चलेको यो बहसलाई १० करोडभन्दा बढी व्यक्तिले टेलिभिजनमा प्रत्यक्ष हेरेको अनुमान गरिएको छ।
अहिलेसम्म भएका यस्ता बहसहरु मध्ये यो नै सबैभन्दा धेरैले हेरेको मानिएको छ।
आजभन्दा ठिक ५६ वर्षअघि राष्ट्रपतिका तत्कालीन उम्मेदवारद्वय जोन एफ केनेडी र रिचर्ड निक्सनबीच पहिलोपटक यस्तै बहस भएको थियो।
सोमबारको बहस एनबिसी न्युजका लेस्टर होल्टले चलाएका थिए। देशको अर्थतन्त्र, कर प्रणाली, सुरक्षा, जातीय मुद्द लगायतका विषयमा केन्द्रित बहसमा दुवै उम्मेदवारले एकअर्काको चर्को आलोचना गरेका थिए।
क्लिन्टनले ट्रम्पलाई करबारे ढाकछोप गरेको आरोप लगाएर कमजोर साबित गर्न खोजेकी थिइन्।
जवाफमा ट्रम्पले कर लाग्ने आफ्नो आम्दानीको विस्तृत विवरण सार्वजनिक गर्ने बताउँदै त्यसका लागि क्लिन्टनले आफू विदेशमन्त्री हुँदाका ३० हजार इमेल सार्वजनिक गर्नुपर्ने सर्त राखेका थिए।
उनले विदेशमन्त्री हुँदा क्लिनटनले इमेलको दुरुपयोग गरेको आरोप लगाउदै आफूमाथिको आरोपलाई ओझेल पार्ने प्रयास समेत गरे।
६८ वर्षीय क्लिन्टन पूर्व विदेशमन्त्री र सांसदका रुपमा अनुभव सम्हालेकी अमेरिकी राष्ट्रपति उम्मेदवार हुन्। उनी ४० वर्षको सार्वजनिक सेवाको अनुभवपछि अमेरिकी राजनीतिमा प्रवेश गरेकी हुन्।
त्यसैगरी उमेरले क्लिन्टनभन्दा पाका ७० वर्षीय ट्रम्प अमेरिकी खर्बपति व्यापारी साथै टेलिभिजनका पूर्वप्रत्यक्ष कार्यक्रम सञ्चालक समेत हुन्। रासस÷एएफपी