PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

घटनास्थलमै छोरो गुमाएकी धनकुमारीले आकाशमै लिइन् अन्तिम सास



सविन ढकाल

घटनास्थलमै छोरो गुमाएकी धनकुमारीले आकाशमै लिइन् अन्तिम सास

काठमाडौं : ७२ वर्षीया धनकुमारी सापकोटा बिहानै भूकम्पपीडितको लागि सरकारले दिएको अनुदान रकम लिन धादिङ सदरमुकाम धादिङबेँसी पुगेकी थिइन्। उनका साथमा जेठा छोरा रामचन्द्र पनि थिए। सरकारी कार्यालयमा पुगेर उनले राहत स्वरुपको रकम आफ्नो पोल्टमा त हालिन् तर त्यो रकम न त खर्च गर्न पाइन्, न उनका सन्तानको हातमै पर्‍यो।
 
करिब १० बजेतिर उनी धादिङबेंसीबाट दारखाको लागि बस चढिन्। बसमा उनीजस्तै अधिकांश अनुदान रकम लिएर फर्किने नै थिए। बसको एउटा मात्र टिकट पाएकाले छोरा रामचन्द्र भने उभिएरै यात्रा गर्न बाध्य भए।

तर अपसोस, धादिङको उत्तरी क्षेत्रको मार्पाकमा बस दुर्घटनामा पर्‍यो। उनीहरु चढेको बस सडकबाट करिब तीन सय मिटर तल रहेको आँखु खोलामा पुग्यो।
 
पहिरो आइरहेको र कमजोर सडक संरचनाको कारण दुर्घटना हुन पुग्यो। दुर्घटना स्थलमा नै ४२ वर्षीय रामचन्द्रले सदाको लागि संसार छोडे। प्रहरी र स्थानीयको टोली घटनास्थल पुग्दा धनकुमारी छटपटाइरहेकी थिइन्। रकम भएको झोला समेत उनको साथमा नै थियो।
 
घटनास्थल पुगेका एक उद्धारकर्ताले बताएअनुसार उनी 'मेरो पैसा छ पैसा छ' भन्दै इसारा गरिरहेकी थिइन्।
 
काठमाडौबाट उद्धारका लागि गएको हेलिकोप्टरमा राखेर उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइँदै थियो। तर अर्को दुर्भाग्य, धनकुमारीलाई ल्याएको हेलिकोप्टरले धर्तीमा टेक्न नपाउँदै उनले भने आकाशबाटै सधैंको लागि आँखा चिम्लिइन्।
 
मंगलबार दिउँसोबाट शिक्षण अस्पतालको वातावरण शोकाकुल बनेको छ। त्यही रोदनको भिडमा थिइन्, सीता सापकोटा। आफ्ना श्रीमान् रामचन्द्र र सासू गुमाउनुपर्दाको चोट उनका लागि बयान गरिसाध्य छैन।


अस्पतालमै भेटिएकी सीताको अवस्था अचेत छ। कक्षा तीन र नौमा पढ्ने छोरा र छोरीको साथ मात्र छ, अब सीतालाई।
 
उनको ससुराको केही वर्षअगाडि नै निधन भइसकेको छ। कान्छा देवर भने मानसिक रोगी छन्। श्रीमान् र सासूलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गर्दैछिन् उनी।
 
सडकको भौगोलिक अवस्था, चालकको लापरबाही र यात्रु स्वयं सचेत नहुँदा सीताको सिउँदो पुछिएको मात्र छैन उनी बेसाहारा बनेकी छिन्। नेपाली काँग्रेसका जिल्ला सभापनि रमेश धमलाका अनुसार धेरै यात्रुको मृत्यु् बसले च्यापेर भएको थियो। फोटो : नेपाली सेना



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell